विद्युत कर्मचारी कुटपिट प्रकरण: एमाले नेता ओली प्रहरीको नियन्त्रणमा


धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि कुटपिट भएको घटनामा नेकपा एमाले मेचीनगरका इन्चार्ज शेखर ओली ‘सागर’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्युत प्राधिकरणका कर्मचारी सोमनाथ उप्रेतीलाई कुटपिट गरेको जाहेरीको आधारमा ओलीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कर्मचारी उप्रेतीले घटनामा आफुलाई आक्रमण  गरेको भन्दै ओली गत साउन २८ गते साँझमा मेची आम्दा अस्पतालमा उपचारका क्रममा थिए । उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मेचीनगर–१० का कृषक कृष्ण मगरले पानी तान्ने बिरिङको सबै काम पूरा गरेपछि पानी चेकजाँचका लागि हुँक प्रयोग गरेर विद्युत चुहावट गरेका थिए । उक्त बिषयलाई लिएर कृषक र प्राधिकरण प्रमुखसँग छलफलकै माध्यमबाट सामाधान खोजिएको थियो । पछिविद्युत चुहावटसम्बन्धी विषयमा प्राधिकरणले ७ हजार रुपैयाँ जरिवाना गरेपछि विवाद उत्पन्न भएको थियो । सोही विषय लिएर छिमेकीसमेत रहेका मगरलाई लिएर ओली गत साउन २८ गते प्राधिकरणको धुलाबारी कार्यालयस्थित चुहावट नियन्त्रण फाँटमा पुगेका थिए । त्यहाँ कर्मचारी सोमनाथ उप्रेतीसँग विवाद भएपछि हातपात भएको आरोप कर्मचारी पक्षले लगाउँदै आएका छन् । उप्रेतीको आँखा र टाउकोमा चोट लागेको र उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।

याता कार्यालय प्रमुखसँग  कृषकलाई कुनै कार्वाही नगर्ने भनी सहमतिबारे चुहावट शाखाका कर्मचारी उप्रेतीलाई जानकारी गराउने क्रममा उप्रेतीले फाइल फालेर आफूमाथि प्रहार गरेको ओलीले  सञ्चारकर्मीहरुसमक्ष धारणा सार्वजनिक गरेका थिए । कार्यालयमा भएको घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारी पुगेका प्राधिकरणका कर्मचारीमाथि ओली समर्थक युवाहरूले कुटपिट गरेको कर्मचारीले जिल्ला प्रशासन कार्यालय झापामा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

कर्मचारीको सुरक्षाको माग राख्दै घटनामा संलग्न ब्यक्तीलाई  नियन्त्रणमा नलिए चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरेका थिए । घटना भएकै समयमा प्रहरी एमाले मेचीनगर–११ का कार्यकर्ता शम्भू राजवंशीलाई साउन २८ गते साँझमा प्रहरीले नियन्त्रणमा लिएको थियो । यता विद्युत प्राधिकरण धुलाबारी सेवा केन्द्रका कार्यालय प्रमुख शम्भुप्रसाद मण्डलले घटनाको बिषयमा दुबै पक्षबीच सहमतिको माध्यमबाटै निकास निकाल्न आग्रह गरेका छन् ।