रम्तेलले मनाए आश्रमका बालबालिकासँग जन्मदिन


मेचीनगर । भूमि समस्या समाधान समिति, मेचीनगर नगरपालिका शाखाका कर्मचारी सन्तोष रम्तेलले सामाजिक सेवामार्फत जन्मदिन मनाएका छन्।

रम्तेलले मेचीनगर–७, इटाभट्टास्थित समाज सेवा सुधार युवा संघ, अपाङ्ग सहयोग समितिमा रहेका अपाङ्गता भएका नानीबाबुहरूलाई खाना खुवाएर जन्मदिन मनाएका हुन्।

जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवासँग जोड्दै बालबालिकासँग खुसी साटासाट गर्ने उद्देश्यले उनीहरूलाई खाना खुवाइएको रम्तेलले बताए।

सामान्य रूपमा मनाइने जन्मदिनभन्दा फरक ढंगले सामाजिक सेवामार्फत जन्मदिन मनाउँदा आफूलाई थप खुसी र सन्तुष्टि मिलेको रम्तेलले बताए।

अपाङ्गता भएका बालबालिकाको संरक्षण, हेरचाह र सहयोगका लागि समाजका सबै पक्षको साथ आवश्यक रहेको भन्दै उनले आगामी दिनमा पनि आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।