मेचीनगरमा ब्रेनवेभ ह्याकाथन, देखियो विद्यार्थीको प्रतिभा
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि र नवीन सोचको आदानप्रदान गराउने उद्देश्यले मेचीनगरमा आयोजित ‘इन्डो–नेपाल ब्रेनवेभ ह्याकाथन–२०८३’ सम्पन्न भएको छ।
ब्रेनवेभ सर्कलको आयोजनामा मेचीनगर–६ स्थित काँकडभिट्टा हलमा शनिबार सम्पन्न ह्याकाथनमा नेपाल र भारतका विभिन्न विद्यालयबाट आएका विद्यार्थी तथा शिक्षकसहित दुई हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले विज्ञान, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), वातावरण, पर्यटन तथा नवप्रवर्तनलगायतका क्षेत्रमा तयार पारेका इनोभेसन मोडल, प्रोटोटाइप तथा कार्यशील परियोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ब्रेनवेभका संरक्षक डम्बर रुचल, मेचीनगर–७ का वडा अध्यक्ष प्रह्लादमणि ओली तथा प्रमुख अतिथि मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीले मन्तव्य राखेका थिए।
मन्तव्यका क्रममा वक्ताहरूले विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता र नवीन सोचलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। नेपाल र भारतका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र प्रविधिको अनुभव आदानप्रदान गराउने प्रयासले दुई देशबीचको शैक्षिक तथा सिर्जनात्मक सम्बन्धलाई थप बलियो बनाउने उनीहरूको भनाइ थियो ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको ह्याकाथनमा विभिन्न विद्यालयका विद्यार्थीले समूहगत रूपमा सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक विचारलाई परियोजनामार्फत प्रस्तुत गर्दै प्रविधिको प्रयोगबाट विभिन्न समस्या समाधानका उपायसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालन नेत्र सापकोटा र पदम रुचलले गरेका थिए। कार्यक्रमको अध्यक्षता ब्रेनवेभ सर्कलका अध्यक्ष कमल भेटवालले गरेका थिए।
अध्यक्ष कमल भेटवालले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सिर्जना, प्रयोग र नवप्रवर्तनमार्फत सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताए। उनले नेपाल र भारतका विद्यार्थीबीच सहकार्य र ज्ञान आदानप्रदानलाई निरन्तरता दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने बताए।
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...


