क्यान्सर पीडित बालकको उपचारका लागि ओसियानिक स्कुलको सहयोग


मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित भई उपचाररत छन्। उपचारका क्रममा आर्थिक समस्या परेको जानकारी पाएपछि उनको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ओसियानिक स्कुलका विद्यार्थीहरूले रु. १५ हजार सहयोग गरेका छन्।

विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार रकम संकलन गरी दनुवारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन्। विद्यार्थीहरूको यस सहयोगले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो हौसला र आशा प्रदान गर्न सक्ने सन्देश दिँदै विद्यालय परिवारले रिदम दनुवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। “मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै विद्यार्थीहरूले गरेको सहयोगको स्थानीय स्तरमा समेत प्रशंसा भएको छ।

शिक्षा किताबमा मात्र सीमित हुनु हुँदैन : प्रधानाध्यापक रुचाल

ओसियानिक स्कुलले शिक्षा केवल किताब र पाठ्यपुस्तकमा मात्र सीमित हुनु नहुने मान्यतालाई आत्मसात् गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको विकास गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक पदम रुचालले विद्यार्थीहरू परिवार, समाज र समुदायका सदस्य मात्र नभई देशको भविष्यसमेत भएकाले उनीहरूमा मानवीय तथा सामाजिक मूल्यको विकास आवश्यक रहेको बताए।

“साना नानीहरू केवल परिवार, समाज र समुदायका मात्र होइनन्, उनीहरूले देशको भविष्य बोकेका हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ,” प्रधानाध्यापक रुचालले भने।

शैक्षिक अस्वस्थ प्रतिस्पर्धाले गाँजिएको वर्तमान समाजमा यस्ता मानवीय तथा सामाजिक कार्यले सामाजिक सद्भाव, सकारात्मक संस्कार र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको बुझाइ रहेको उनले बताए।

त्यस्तै, समाजका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार बालबालिकालाई निःशुल्क छात्रवृत्तिको अवसरसमेत प्रदान गर्दै आएको विद्यालयका इन्चार्ज आनन्द राईले यस्ता सामाजिक कार्यमा सहभागी हुन पाउँदा विद्यालय परिवारलाई खुसी र गर्व महसुस हुने बताए।

विद्यालयले शिक्षा परीक्षा र अंक प्राप्त गर्ने माध्यम मात्र नभई असल नागरिक निर्माण गर्ने प्रक्रिया भएको भन्दै विद्यार्थीलाई सामाजिक सेवा, सहयोग, सहकार्य तथा मानवीय मूल्य–मान्यताप्रति जिम्मेवार बनाउन निरन्तर प्रेरित गर्दै आएको जनाएको छ।र्ने माध्यम मात्र नभई असल नागरिक निर्माण गर्ने प्रक्रिया भएको भन्दै विद्यार्थीलाई सामाजिक सेवा, सहयोग, सहकार्य तथा मानवीय मूल्य–मान्यताप्रति जिम्मेवार बनाउन निरन्तर प्रेरित गर्दै आएको जनाएको छ।