फाइनलमा वडा नम्बर ५ र १२ भीड्ने


मेचीनगर । मेचीनगर–३ वडा कार्यालय अन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा जारी दोश्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल चरणका प्रतिस्पर्धात्मक खेलपछि वडा नम्बर ५ र वडा नम्बर १२ उपाधिका लागि फाइनलमा आमनेसामने हुने भएका छन् ।

बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १२ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर ११ लाई ३–० गोलअन्तरले पराजित गर्‍यो । पहिलो हाफमा दुवै टोलीबीच प्रतिस्पर्धा कडा रहे पनि दोस्रो हाफमा वडा नम्बर १२ हाबी बन्यो । खेलको ९ औँ र १३ औँ मिनेटमा मनोज राईले लगातार दुई गोल गर्दै टोलीलाई मजबुत अग्रता दिलाए । त्यसपछि २३ औँ मिनेटमा जानव लिम्बूले थप एक गोल गर्दै जितलाई सहज बनाए ।

उत्कृष्ट प्रदर्शन गरेका मनोज राई ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई भागेन्द्र थापाले ट्रफी तथा रामबहादुर दासले नगद १ हजार रुपैयाँ प्रदान गरे ।

दोस्रो सेमिफाइनल खेल भने झनै रोमाञ्चक बन्यो । वडा नम्बर ५ र वडा नम्बर ९ बीच निर्धारित समयसम्म कडा प्रतिस्पर्धा हुँदै बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । टाइब्रेकरमा वडा नम्बर ५ ले ३–२ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

वडा नम्बर ५ का लागि ओवेथ लिम्बू, आयुष तामाङ र अजय तामाङले सफल प्रहार गरे । यद्यपि राज क्षेत्री र कुशल लिम्बूको प्रहार गोलमा परिणत हुन सकेन । वडा नम्बर ९ का सञ्जोग भुजेल र रञ्जित लिम्बूले मात्र गोल गर्न सफल भए भने दिप्सन श्रेष्ठ, साहिल तामाङ र सनिल बराइलीको प्रहार असफल रह्यो ।

उत्कृष्ट प्रदर्शन गरेका अजय तामाङ उक्त खेलका ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई समाजसेवी ललित शंखरले नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे ।

प्रतियोगिता वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ ।

साथै प्रतियोगिता अवधिभर ‘म्यान अफ द म्याच’ पुरस्कारको प्रायोजन ल्होत्से इङ्लिस स्कुल मेचीनगर–९ ले गरेको आयोजकले जनाएको छ ।

अब सबैको ध्यान बहुप्रतिक्षित फाइनल खेलतर्फ केन्द्रित भएको छ, जहाँ वडा नम्बर ५ र वडा नम्बर १२ बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । दुवै टोली उत्कृष्ट लयमा देखिएकाले उपाधि कसले जित्ने भन्ने चासो दर्शक तथा खेलप्रेमीहरूमा उच्च रहेको छ ।

पहिलो संस्करणको विजेता वडा नम्बर ९ रहेको थियो । अब प्रतियोगिता निर्णायक चरणमा प्रवेश गरेको छ। उत्कृष्ट लयमा रहेका वडा नम्बर ५ र वडा नम्बर १२ बीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

पहिलो संस्करणको उपाधि जितेको वडा नम्बर ९ यसपटक सेमिफाइनलमै रोकिएपछि नयाँ विजेता बन्ने निश्चित भएको छ, जसले प्रतियोगिताको रोमाञ्च झनै बढाएको छ।