कालिका बनमा निर्वाचन, दलहरु अध्यक्ष छान्न व्यस्त


मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी भदौ २१ गते हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनको कार्यतालिका निर्वाचन समितिले सार्वजनिक समेत गरेको छ ।
सोमबार सामुदायिक वन कार्यालयमा बसेको सर्वपक्षीय भेलाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रकृया अगाडि बढाएको छ । जस अन्तरगत भदौ ४ गते मतदाता नामावली प्रकाशन तथा भदौ ५ गते मतदाता नामावली उपर दावीविरोध गर्दै अन्य प्रकृया अगाडि बढाइएको कार्यतालिकामा उल्लेख छ ।
निर्वाचन समितिका संयोजक सन्तोषकुमार मेचेका अनुसार वडा नम्बर—११ को वडा कार्यालयमा निर्वाचन समितिको कार्यालय राखेर कामकारवाही अघि बढाइनेछ । निर्वाचन समितिका सचिव टंककुमार रिजालले सबै दलहरुको सल्लाह सुझावलाई ग्रहण गर्दै निर्वाचन सम्पन्न गरिने बताए ।
अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति पदमा निर्वाचन हुनेछ । त्यस्तै पाँच सदस्यीय लेखा समिति पदका लागि निर्वाचन हुने बताइएको छ । अध्यक्ष पदको उम्मेद्वारमा वीरबहादुर तामाङ, ख्याम राई, रामकुमार रिजाल, लक्ष्मी गौतमको नाम चर्चामा छ । तामाङ नेपाली कांग्रेस निकट हुन् । उनलाई नेकपा (माआवादी केन्द्र), रास्वपा, संघीय लिम्बुवानले साथ दिने बुझिएको छ भने अन्य आकांक्षीहरु एमाले निकट रहेका छन् । यस्तै, राप्रपाबाट दीपेश राई अध्यक्ष पदमा उठ्ने चर्चा छ ।
भदौ २१ गते हुन लागेको निर्वाचनमा २ हजार १५० जना उपभोक्ताले मतदान गर्ने जनाइएको छ । यद्यपी मतदाताको अन्तिम नामावाली टुंगो लाग्न बाँकी रहेको छ । निर्वाचन बलभद्र जनता माविमा हुनेछ ।
सर्वपक्षीय भेलामा नेपाली कांग्रेसका बिरबहादुर तामाङ, एमालेबाट सागर ओली, माओवादी केन्द्रका नरेन्द्र गछाम, राप्रपाका राजन प्रसाईं, वडा नम्बर—१२ का सदस्य विशुलाल मेचे, वडा नम्बर—११ का सदस्य श्याम शिवाकोटी, निर्वाचन समितिका सदस्य, वनका अध्यक्ष योगेश भट्टराई लगायतले सुझावसहितको धारणा राखेका थिए ।
……………………