‘स्थानीय तहसंग समन्वय भएन, लापरबाहीले प्लमवाल भत्कियो’


मेचीनगर । झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा नवनिर्मित प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा निर्माणपछि प्लमवाल भत्किएको हो ।

मेचीनगर वडा नम्बर १३, नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको वाल १० फुट अग्लो करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ ।

माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो बाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । स्थानीय तहसंग समन्वय गरेको भए त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था बारे निर्माण कम्पनी र इन्जिनियरलाई थाहा हुने थियो । तर त्यसो नहुँदा बनिनसक्दै प्लमवाल भत्किन पुग्यो । कम्तीमा जनप्रतिनिधिसंग समन्वय नगरे पनि नगरका स्थानीय प्राविधिक संग समन्वय गरेको भए पनि त्यस्तो हुने थिएन ।

नवनिर्मित प्लमवाल लोकल इन्फ्रासक्टटचर डेभलपमेन्ट प्रोजेक्ट इटहरी मार्फत मेचीनगर(१० को ठेकेदार एसयुएन कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । त्यस्तै योजना सम्पन्न गर्न प्रोजेक्टका इन्जिनियर परलाद दाहाल र ठेकेदार कम्पनीका नयन बरालले निर्माण गर्ने जिम्मा लिएका थिए ।

सम्झौंतापछि ठेक्का पाएको कम्पनीले ठेकेदार दिलिप राजबंशीलाई योजनाको काम सम्पन्न पेटी ठेक्का दिएका थिए । दिलिप राजबंशीले पनि अर्का ठेकेदार अतुल चौधरीलाई पेटी ठेक्का दिएका थिए । संघीय सरकारबाट ठेक्का पाएका र ठेकेदारबाट पेटी ठेक्का पाएका ठेकेदारले मनोमानी रुपमा निर्माण गर्दा उक्त क्षति भएको स्थानीयको आरोप छ ।

संघीय सरकारको १ करोड १६ लाखको टेन्डर भएपनि ठेकेदार कम्पनीले कम मूल्य वा ९६ लाख, २४ हजार, ४ सय ७९ रुपैयाँ ६ पैसामा योजनाको काम सम्पन्न गर्ने भनी ठेक्का सम्झौंता गरेका थिए । ३३ फुटे चौडाई र ६५० मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ प्लम वाललसहित ग्रावलका लागि ठेक्का परेको हो । बाटोको एकातर्फको प्लमवाल निर्माणपछि अर्को पट्टीको बाल निर्माण सुरु गरेको २ दिनपछि निर्मित वालको ७५ मिटर भाग भत्कियो । भत्किएको उक्त प्लमवाल अहिले ठेकेदार कम्पनीले पुनः निर्माण कार्य सुरू गरेको छ ।असार २५ गते योजनाको काम सम्पन्न मिति रहेको छ ।