सञ्चारमैत्री नगर निर्माणमा प्रतिबद्ध छु : प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले नगरको समग्र विकासका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । उनले विधि र विधानअनुसार नगरलाई समृद्धिको बाटोमा अघि बढाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
प्रेस क्लब मेचीनगरले आज इटाभट्टास्थित कार्यालयमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले नगरमा रहेका समस्या र चुनौतीलाई समाधान गर्दै विकास निर्माणलाई प्रभावकारी बनाउन सञ्चारकर्मीको सहयोग आवश्यक रहेको बताए ।
‘नगरको समग्र विकासलाई पारदर्शी ढंगबाट जनतासम्म पुर्याउन आवश्यक छ,’ उनले भने, ‘नगरको सञ्चार क्षेत्र र सञ्चारकर्मीको वृद्धि तथा विकासमा हातेमालो गर्दै अघि बढ्न नगरपालिका प्रतिबद्ध छ ।’
नगरमा थुप्रै समस्या तथा चुनौती रहेको उल्लेख गर्दै श्रेष्ठले ती चुनौतीको सहज रुपमा सामना गर्दै सुधारका लागि सञ्चार क्षेत्रले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नगरका गतिविधि, विकास निर्माण तथा सेवा प्रवाहका विषयमा जनतालाई सही र तथ्यपरक सूचना उपलब्ध गराउन आफूले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष तथा पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, पूर्व अध्यक्षहरू ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती र डम्बर बराल, अग्रज पत्रकार राजेन्द्र गौतम, पत्रकार शिशिर चम्लागाईं तथा सञ्चारकर्मी अनिश काफ्लेलगायतले मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिए ।
वक्ताहरुले मेचीनगरलाई सञ्चारमैत्री नगरका रुपमा विकास गर्न आग्रह गरेका छन् । उनीहरुले सञ्चारकर्मीलाई सूचना प्राप्त गर्न सहज वातावरण निर्माण गर्न, सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउन सूचना अधिकारी तोक्न तथा नगरका गतिविधि र निर्णयबारे नियमित रुपमा सूचना सार्वजनिक गर्न सुझाव दिए ।
नगरमा हुने बेथिति तथा कमजोरीलाई सञ्चारमाध्यमले उजागर गर्दै जनतालाई सही सूचना प्रवाह गर्ने भएकाले नगर नेतृत्व र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो । नगरको विकास, सुशासन र पारदर्शिताका लागि सञ्चार क्षेत्रलाई साझेदारका रुपमा अघि बढाउनुपर्नेमा समेत उनीहरुले जोड दिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य खगेन्द्र घिमिरेले राखेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
