मेचीनगर : चारआली ओभरपासको काम ५० प्रतिशत सकियो
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ। आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ।
एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तले चारआली ओभरपासको संरचनागत निर्माण आधाभन्दा बढी भइसकेको बताउँदै बाँकी कामलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार बिर्तामोड नगरपालिका-२ स्थित चारपाने खण्डमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ।
चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर र्याम्प (भिरालो बाटो वा गाडी कुदाउने) रहने इन्जिनियर पन्तले बताए।
ओभरपास सञ्चालनमा आएपछि पूर्व(पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट गुड्नेछन् भने स्थानीय सवारीसाधनले तलको सडक प्रयोग गर्नेछन्। यसबाट ट्राफिक व्यवस्थापन, यात्रा समयको बचत तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजनाको विश्वास छ।
इन्जिनियर पन्तका अनुसार बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइ हो। अहिले अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले यही सातादेखि निर्माण कार्य सुरु गरिने तयारी गरिएको उनले बताए।
सरकारले एसियाली विकास बैंक ९एडिबी० को सहयोगमा काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्म ९५ दशमलव ७६ किलोमिटर पूर्व(पश्चिम राजमार्गलाई चारलेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। सोही आयोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड दमकसहित विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको हो।
चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको ट्राफिक जाम अन्त्य भई व्यापार(व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीय व्यवसायी शरद् शिवाकोटीले व्यक्त गरे। उनका अनुसार अहिले दैनिकजसो हुने सवारी चापका कारण बजार क्षेत्र प्रभावित हुने गरेको छ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ओभरपास निर्माणले मेचीनगरको शहरी स्वरूपमा नयाँ आयाम थप्ने बताए। उनले मेची पुलदेखि चारआलीसम्मको बजार क्षेत्रलाई व्यवस्थित बनाउन यस परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
स्थानीय बद्री महतले मेची राजमार्ग र पूर्व(पश्चिम राजमार्गको सङ्गमस्थल चारआलीमा ओभरपास निर्माण भएपछि यातायात थप सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय र समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे।
निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा आफू आशावादी रहेको उनले बताए।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

