अनावश्यक रूपमा लाइन काट्दैनौँ : धुलाबारी वितरण केन्द्र
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले पछिल्लो समय बारम्बार विद्युत आउने–जाने (झ्यापझ्याप हुने) विषयमा सेवाग्राहीबाट गुनासा बढेपछि यसको वास्तविक कारणबारे स्पष्ट पारेको छ ।
वितरण केन्द्रका कार्यालय प्रमुख शम्भुप्रसाद यादवले प्राधिकरणले कुनै पनि अवस्थामा अनावश्यक रुपमा लाइन नकाट्ने भन्दै विद्युत आपूर्तिमा देखिने समस्या प्राविधिक तथा प्राकृतिक कारणले हुने बताएका छन् ।
यादवका अनुसार वर्षायाममा हावाहुरी, चट्याङ, रुखका हाँगा तारमा लत्रिने, फ्युज उड्ने तथा अन्य प्राकृतिक विपत्तिका कारण विद्युत आपूर्तिमा अवरोध आउने गर्छ । त्यस्तै, सडक विस्तारलगायत पूर्वाधार निर्माणका क्रममा पनि सुरक्षाका लागि केही समय विद्युत लाइन बन्द गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए । ‘समस्या नआइकन त्यसै लाइन काट्ने काम प्राधिकरणले गर्दैन,’ उनले भने ।
उनले विद्युत झ्यापझ्याप जाँदा मिटरले बढी युनिट देखाउने वा विद्युत महसुल बढ्ने भन्ने धारणा निराधार रहेको स्पष्ट पारे । यस्तो हल्लाले सेवाग्राहीमा अनावश्यक भ्रम सिर्जना भएको भन्दै वास्तविक अवस्थाबारे बुझेर मात्र प्रतिक्रिया दिन उनले आग्रह गरे ।
कार्यालय प्रमुख यादवले विद्युत आपूर्तिमा आउने समस्या समाधान गर्न प्राविधिक तथा कर्मचारीहरु २४ सै घण्टा तयारी अवस्थामा खटिएको जानकारी दिए । कुनै स्थानमा समस्या देखिने बित्तिकै टोली परिचालन गरी मर्मत तथा सेवा पुनः सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।
धुलाबारी वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पुराना तथा जीर्ण तार हटाएर नयाँ लाइन प्रतिस्थापन ९रिफ्लेस० गर्ने काम पनि निरन्तर भइरहेको उनले बताए । मर्मत तथा स्तरोन्नतिको काम सम्पन्न भएपछि विद्युत आपूर्ति अझ विश्वसनीय हुने विश्वास उनले व्यक्त गरे ।
धुलाबारी वितरण केन्द्रले मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका करिब ४५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । केन्द्रमा नयाँ विद्युत मिटर जडानका लागि झण्डै ३०० वटा निवेदन परेकोमा हालसम्म करिब १०० वटा मिटर जडान गरिसकिएको र बाँकी काम पनि क्रमिक रुपमा अघि बढिरहेको कार्यालयले जनाएको छ ।
वितरण केन्द्रको ल्यान्डलाइन नम्बर नउठ्ने विषयमा पनि यादवले प्रष्टिकरण दिएका छन् । उनका अनुसार लाइन अवरुद्ध हुँदा एकै समयमा ठूलो संख्यामा सेवाग्राहीले फोन गर्ने भएकाले फोन व्यस्त देखिने गरेको हो ।
उनले घर वा टोलमा विद्युत सम्बन्धी समस्या देखिएमा धुलाबारी वितरण केन्द्रको फेसबुक पेजमार्फत जानकारी गराउन आग्रह गर्दै त्यसको आधारमा प्राविधिक टोली तत्काल परिचालन गरी समस्या समाधान गरिने बताए ।
विद्युत आपूर्तिमा देखिने समस्या धेरैजसो प्राविधिक र प्राकृतिक कारणबाट उत्पन्न हुने भएकाले भ्रममा नपरी वास्तविक अवस्था बुझेर सहयोग गर्न धुलाबारी वितरण केन्द्रले सम्पूर्ण सेवाग्राहीसँग आग्रह गरेको छ ।
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...

