मेचीनगरका चर्चित पर्यटकीय गन्तव्यहरू:
भगवान बास बसेको ठाउँ कृष्णथुम्की
मेचीनगर १ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र हो, कृष्णथुम्की । पूर्वी नाका काँकरभिट्टाबाट करिब १८ किमी उत्तर जाँदा पुगिने यस पवित्र धार्मिक स्थलको पूर्वमा तिरिङ खोला र पश्चिममा करिब ६०० मिटरको दुरी जाँदा निन्दा खोला भेटिन्छन् । समुन्द्री सतहबाट ४७० मिटर उचाईमा रहेको यस थुम्की वा डाँडाको शीर्ष भागमा भगवान् श्रीकृष्णको मन्दिर स्थापना गरिएको छ । आजभन्दा २० वर्ष अघि सामान्य वन क्षेत्रका रुपमा रहेको यस थुम्कीमा २०५५ सालमा विद्वान तथा इतिहासकार योगी नरहरिनाथबाट कृष्ण मन्दिरको शिलान्यास भएको थियो ।

कृष्ण थुम्कीको नामाकरणको इतिहास तथ्यगत रुपमा फेला परेको नभए पनि महाभारतकालीन कथा र पात्रहरुसँग यसको प्रसंग जोडिएको पाइन्छ । पाण्डवहरुको वनवास कालमा साथै गुप्तवासको अवस्थामा घुम्दै जाँदा यस ठाउँमा आइपुगेको ऐतिहासिक प्रसंग किंवदन्तीका रुपमा रहेको पाइन्छ । त्यस्तै, सत्तलसेन राजा, लोहासुर दैत्य, गुरु धौम्य आदिको समेत प्रसंग महाभारतमा उल्लेख भएको छ । यस ठाउँको वरिपरि ती व्यक्तिहरुसँग सम्बन्धित नाम गरेका ठाउँहरु रहेको पाइनाले भगवान श्रीकृष्णसँग सम्बन्धित रहेको अनु गर्न सकिन्छ । वनवास र गुप्तवास गरी १३ वर्षको
अवधिभित्र घुम्दै यस ठाउँमा आइपुग्दा पूर्वतिर लोहासुर दैत्य राजाको राज्य रहेको, उत्तरतिर सत्तलसेन राजाको राज्य रहेको र लोहासुर दैत्यले सत्तलसेनलाई साह्रै दुःख दिँदै आएकाले सत्तलसेन राजाले कृष्णलाई दुःखबाट मुक्ति पाउन अनुरोध गर्दा उनको अनुरोधलाई स्वीकार्दै श्रीकृष्णले यसै थुम्कामाथि टेकेर लोहासुरको बध गरेको प्रसंग चर्चित छ । कृष्णथुम्कीमा प्रत्येक वर्ष कृष्ण अष्टमीका दिन भव्य धार्मिक मेलाको आयोजना हुँदै आएको छ । कृष्णथुम्की पर्यटकको रोजाइमा पर्छ । कृष्णथुम्कीबाट झापा र पश्चिम बंगालका अधिकांश भूभागको दृश्वालोकन गर्न पनि सकिन्छ ।
वरिपरि बस्ती बीचमा सिमसार
पछिल्लो समय मेचीनगर– ९ मा अवस्थित खुट्टीडाँगी सिमसार पर्यटकको रोजाइमा परेको छ । वन समितिले सञ्चालनमा ल्याएको सिमसार क्षेत्रमा नौका विहार, बाल उद्यान, सेल्फी टावर, आइलेण्ड तथा पिकनिक स्पट रहेका छन् ।
शान्त वातावरणमा रहेको उक्त सिमसार क्षेत्रलाई वरिपरि बस्तीले घेरेको छ । नगरकै सानो वन रहेको खुट्टीडाँगीलाई ’टुक्रे वन’ भनेर पनि चिनिन्छ । धुलाबारी मोडबाट करिब अढाइ किलोमिटर दुरीमा पर्ने सो सिमसारमा पिकनिक तथा रमाइलो गर्न आन्तरिक पर्यटकहरु आउने गरेको वन समूहका कार्यालय सचिव राजु धिमाल बताउँछन् । आम्दानीको स्रोत बढाउन उक्त बनले पर्यटकलाई अन्य हेर्न तथा घुम्नलायक पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ ।
थोप्लेविरानमा हात्तीसँग सेल्फी ।
मेचीनगर–९ मै रहेको थोप्लेविरान बन समूह आशलाग्दो पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्वाधारको विकासमा जुटिरहेको उक्त वन क्षेत्रमा पिकनिक घर सञ्चालन, हात्ती तथा डाइनोसरको प्रतिमा राखिएको छ। सेल्फी खिच्नका लागि उक्त क्षेत्रमा पर्यटकहरु जाने गरेका छन् ।
वन समूहले पर्यटकलाई लोभ्याउने खालका योजनाहरु पनि ल्याएको छ । वन समूहले कोसेली घर सञ्चालन गर्ने र बहुमूल्य जडीबुटी संकलन गरेर विक्री गर्ने योजना बनाएको छ । हात्ती प्रभावित क्षेत्रमा पर्ने उक्त वनमा लोप हुँदै गएको कर्मा, अँगेरी, बेललगायतका बनस्पति छन् । मानव र हात्तीबीचको द्वन्द्व भइरहेको बेला न्युनीकरण गर्ने उपायको खोजी गर्ने उपयुक्त केन्द्र थोप्लेविरान बन्न सक्छ ।
उत्कृष्ट शैक्षिक थलो
मेचीनगरका केही सामुदायिक तथा निजी विद्यालयहरु ’शैक्षिक पर्यटन हब को रुपमा विकास भएका छन् । मेचीनगर १४ मा रहेको बालसुबोधिनी आधारभूत विद्यालय, मेचीनगर १०, धुलाबारीको इस्ट होराइजन मावि, धुलाबारी मावि, इटाभट्टाको आदर्श मावि, झापा नेशनल स्कुल, काँकरभिट्टा मावि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल छन् । यी विद्यालयको शैक्षिक प्रगति हेर्न र बुझ्न देश अनि विदेशका शैक्षिक अभियन्ताहरु आउने गर्दछन् । बालसुबोधिनी विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार बालमैत्री वातावरणमा शैक्षिक क्रियाकलापहरु सञ्चालन भइरहेको छ । हरियाली, शान्त र सफा वातावरणमा विद्यालयका गतिविधिहरु हुने गरेका छन् । विद्यालयले अपनाएको शैक्षिक सुधार अरुका लागि शिक्षा दिने थलो बनेको छ ।
यता, धुलाबारी मावि नमूना विद्यालयमा पर्दछ । कुनैबेला धुलाबारी माविको शैक्षिक अवस्था खस्किएको थियो । तर, विस्तारै यसले फड्को मारेर अहिले प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्र बन्न सफल भएको छ । विगत वर्षदेखि सो विद्यालय अभिभावकको रोजाइमा परेको छ ।
पातालबाट पानी निस्कने पातालगंगा
मेचीनगर–५ र ८ मा रहेको पातालगंगा तथा शिवालय मन्दिर पूर्वको उत्कृष्ट धार्मिक पर्यटकीय स्थल मध्ये एक हो ।
धार्मिक इतिहास अनुसार अर्जुनले गौचरणमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमीनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ती रहिआएको छ । जहाँ अहिले पनि बाह्रैमास पानी निस्किरहन्छ ।
धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख / विराम हुँदा यस मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरु आउने गर्दछन्। महाशिवरात्रीको अवसरमा त्यहाँ मेला लाग्ने गरेको छ । पातालगंगा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले यस क्षेत्रलाई सुन्दरता थपेको छ ।
पहाडै पहाडको थुप्रो मिनी माउन्टेन
मेचीनगर–२ र इलामको रोङ गाउँपालिकामा अवस्थित मिनी माउन्टेन्न पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । विशेष जाडो मौसममा बनभोजका लागि आन्तरिक तथा बाह्य जिल्लाका मानिसहरुको मन यहाँ आकर्षित हुन थालेको हो। पछिल्लो समय झापामा भएको अन्य पर्यटकीय स्थलहरुले यस स्थानले पनि आफ्नो पहिचान विस्तारै बनाउन थालेको छ ।
वर्षाको समयमा आएको पानीले बनाएको हिमाल जस्तै देखिने चुचुरो र निन्दा खोलाको शान्त वातावरणमा रमाउन दैनिक सयौं मानिसहरु यहाँ पुग्ने गरेका छन् । हिमालको जस्तो चुचुरो, बाल उद्यान, प्राकृतिक सुन्दरता, शान्त वातारवरण र निन्दा खोलाको चिसो पानीमा पिकनिकका अलवा मानिसहरु पारिवारिक भ्रमण र युवायुवतीहरु गफ गर्न साथै सेल्फी खिच्ने गर्छन् । यहाँ रहेको झोलुंगे पुलले गर्दा पनि पर्यटकहरु आकर्षित हुने गर्दछन् ।
पूर्व पश्चिम राजमार्गको इटाभट्टाबाट करिव १० किलोमिटर उत्तरमा पर्ने यो पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासको काम धमाधम भइरहेको छ । २०७०/०७१ सालदेखि यो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल सुरु गरिएको छ । २०७४ सालमा आधिकारिक रुपमा ’मिनी माउन्टेन पर्यटन विकास समिति’ दर्ता गरेर पर्यटकीय केन्द्र बनाउने कार्यको थालनी गरिएको थियो ।

पूर्वको फेवाताल निचाझोडा सिमसार
झापाको दुहागढीमा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समितिको निचाझोडा सिमसार ’पूर्वको फेवाताल’ को रुपमा चिनिन थालेको छ । पोखराको फेवा तालपछिको पूर्वक नमूना तालको रुपमा विकास गर्ने उद्देश्यले हातेमालो सामुदायिक वन समिति लागि परेको छ । मेचीनगर–१३ र १४ नम्बर वडामा फैलिएको सिमसार पूर्वकै नमूना सिमसारको रुपमा चिनिन थालेको हातेमालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम पौडेल बताउँछन् ।
पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढीमा रहेको हातेमालो वन ३९१ हेक्टर क्षेत्रमा फैलिएको छ । करिब ५३ हेक्टरमा सिमसार क्षेत्र रहेको छ ।
धार्मिक हब बन्दै चारआली
पूर्वी पहाडको प्रवेशद्वारको रुपमा रहेको चारआली पछिल्लो समय धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । प्रगति सामुदायिक बन क्षेत्रको केही भागलाई धार्मिक पर्यटकीय लय क्षेत्र निर्माणका लागि स्थानीय जुटेका छन् । सबै धर्म र
समुदायको प्रतिनिधित्व हुनेगरी चारआली चोक पश्चिम आर्मीे ब्यारेक अगाडि पूर्व पश्चिम राजमार्गबाट उत्तरपट्टीको भू–भागलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि काम अघि बढिरहेको छ । हाल सो क्षेत्रमा पाउ पाथिभरा मन्दिर, टाँसी फुन छोक छोई खोलिङ गुम्वा, किराँतेश्वर माहिम मन्दिरको निर्माण सम्पन्न भएके छ ।
यस्तै, यस स्थल नजिकै उत्तरबाट दक्षिणतिर बगेको एक नदी छ उत्तरगंगा अलौकिक तबरले उत्तरतर्फ बग्ने भएकाले पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको छ । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोगव्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने जनविश्वास छ ।
बालनी भक्तपुर झल्किने मागुरमाडी सिमसार
पछिल्लो समय पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिएको छ । मेचीनगर– मागुरमाडी सिमसार’ पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा ९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा फैलिएको चिनिदैछ ।
पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण भएको छ । अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक रहेको छ। सिमसार क्षेत्रमा क्रंक्रिट सामाग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामाग्री बढी प्रयोग गरिएको छ । पर्यटकलाई आकर्षित गर्नका लागि ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु निर्माण गरेर राखिएको छ। भक्तपुरको पुरातात्विक वस्तुहरुको झल्को दिनेगरीका काठका सामाग्री अधिकतम् प्रयोग भएका छन् । मुख्य राजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसवारी पर्यटकीय क्षेत्रसँगै जोडिएको छ ।
’पिकनिक स्पट’ बाँसबारी सिमसार
मेचीनगर नगरपालिका– ११ मा अवस्थित बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्रले अन्य मौसम भ्रमण र जाडोको मौसममा वनभोजका लागि आफ्नो पहिचान बनाएको छ । झापामा भएका जामुनखाँडी, दोमुखा, सालबारी लगायतका ’पिकनिक स्पट’ जस्तै यसले पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर १०, धुलाबारी ढाटदेखि उत्तर करिब दुई किलोमिटर भित्र रहेको यस स्थानमा जाडो मौसम लागेसँगै पिकनिक र अन्य मौसममा फुर्सदको समय व्यतित गर्न पर्यटकहरु जाने गरेका छन् ।
कालिकामा मेचीनगर भरना
मेचीनगर–११ र १२ मा रहेको कालिका सामुदायिक वनले पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको
छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत धाइजन ढाटबाट उत्तर ४ सय मिटरको दूरीमा रहेको छ। पर्यटकका लागि विभिन्न पूर्वाधार निर्माणले सो सामुदायिक वनमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गर्दछन् ।
कालिका सामुदायिक बन २ सय १२ हेक्टरमा फैलिएको छ । जस अन्तरगत १३ हेक्टर भू–भाग पर्यटकीय क्षेत्रका लागि छुट याइको छ । कालिका सिमसारको पोखरी ४ सय मिटर लामो छ । यू आकारको ८ मिटर गहिराइको पोखरी छ ।
कालिका सिमसार भित्र प्रदेश सरकारको सहयोगमा ’कालिका स्तम्भ’ निर्माण गरिएको छ । पर्यटकलाई लोभ्याउन कालिका सिमसारमा चिडियाखाना समेत रहेको छ । ’मिनी चिडियाखान’ मा हरिण, बँदेल चरिबाघ, गिद्ध, हाडखोर, मुसा, खरायो, बैंड, हुचिल लगायतका वन्यजन्तु छन् । २२ फिट अग्लो ’मेचीनगर भरना’ कालिकामा बनिसकेको छ ।

पर्यटकको रोजाइ बन्दै प्रकृति पार्क
झापाको मेचीनगर–४ बाहुनडाँगीस्थित प्रकृति पार्क पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । मानव–हात्ती द्वन्द्वबाट परिचित बाहुनडाँगी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब तीन वर्षअघि रु ४२ लाखको लगानीमा पार्क निर्माण गरिएको हो । मेची नदी किनारमा रहेको पार्कमा फूलबारी, चौतारो, हरियाली वातावरण, २२ वटा जलधारा तथा हात्ती र चराचुरुङ्गीका प्रतिमा राखिएका छन्। पार्कको मुख्य आकर्षण भनेको भारतको लोहागढ जंगलबाट नेपाल प्रवेश गर्ने जङ्गली हात्तीको बथान अवलोकन हो। प्रत्येक साँझ ६० देखि १०० वटासम्म हात्ती यही क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने भएकाले पर्यटकलाई वन्यजन्तुको प्राकृतिक गतिविधि नजिकबाट हेर्ने अवसर मिल्ने गरेको छ ।
पार्कमा हात्तीले रुचाउने ‘इलिफेन्ट फ्रुट’ सहित विभिन्न प्रजातिका बिरुवा तथा चराचुरुङ्गी संरक्षणका लागि फलफूलका रुख रोपिएका छन् । यस क्षेत्र दुर्लभ चराहरूको वासस्थानका रूपमा समेत परिचित छ । हरियाली वातावरण, शीतल हावा, मेची नदीको फराकिलो बगर र पहाडको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ ।
पार्कमा पर्यटकको आगमन बढ्दै जाँदा स्थानीय घरबास तथा साना होटल व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। यद्यपि जङ्गली हात्तीको नियमित आवतजावतका कारण साँझ र बिहान सुरक्षाको चुनौती रहेको स्थानीय बताउँछन् । आवश्यक सुरक्षा तथा पूर्वाधार विकास गर्न सके प्रकृति पार्क पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।
अन्य पर्यटीय गन्तव्यहरु
मेचीनगरमा यस्ता थुप्रै अरु आकर्षक गन्तव्य पर्यटकको रोजाइमा पर्दछन् । पूर्वी नाका काँकरभिट्टाको प्रवेशद्वार, एशियन हाइवे, देवकोटा पार्क, विपी–पुष्पलाल वाटिका पनि घुम्नलायक छन् । त्यस्तै, इटाभट्टामा रहेको मेचीनगर नगरपालिकाको कार्यालय जो कोहीका लागि सुन्दर लाग्नसक्छ। यस्तै, बौद्ध गुम्बा, तथा मन्दिरहरु धर्मावलम्बीहरुका लागि आस्थाको धरोहरको केन्द्र बनेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



