वडास्तरीय फुटबलको उपाधि मेचीनगर १२ लाई


मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ।

बिहीबार बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १२ च्याम्पियन बनेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको वडा नम्बर १२ ले १२औँ मिनेटमा अग्रता लियो। टोलीका फरवार्ड मनोज राईले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। पहिलो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्।


दोस्रो हाफमा पनि वडा नम्बर १२ ले खेलमाथि नियन्त्रण कायम राख्यो। ४८औँ मिनेटमा विवेक राईले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि वडा नम्बर ५ ले पुनरागमनको प्रयास गरे पनि वडा नम्बर १२ को मजबुत डिफेन्स र उत्कृष्ट गोलकिपिङका कारण सफल हुन सकेन। निर्धारित समयसम्म थप गोल नभएपछि वडा नम्बर १२ विजयी बन्दै उपाधि जित्न सफल भयो।

वडा नम्बर ५ ले प्रतिस्पर्धात्मक खेल खेले पनि अनुभवको कमी देखिएको थियो। युवा खेलाडीहरूले राम्रो प्रदर्शन गरे तापनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा उपाधिबाट वञ्चित हुनुपर्‍यो।

उपाधिसँगै विजेता वडा नम्बर १२ ले नगद ४० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता वडा नम्बर ५ ले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका मनोज राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १ हजार रुपैयाँसहित ट्रफी पाए। प्रतियोगिताभर उत्कृष्ट खेलाडीको रुपमा वडा नम्बर ५ का राज क्षेत्री ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए भने आयुष तामाङ उत्कृष्ट डिफेन्डर चुनिए। विजेता टोलीका युवराज पुरी उत्कृष्ट गोलरक्षक घोषित हुँदा आयोजक टोलीका विश्वास मगर ‘राइजिङ प्लेयर’ बने। साथै, मनोज राई सर्वाधिक गोलकर्ता घोषित भए।

विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताभर प्रदान गरिएको ‘म्यान अफ द म्याच’ पुरस्कारको प्रायोजन ल्होत्से इङ्लिस स्कुल, मेचीनगर–९ ले गरेको थियो।


खेम साँवाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विद्यालय तथा सामुदायिक वनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक देवु बानियाँले गरेका थिए।
कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने संघ–संस्था तथा दाताहरूलाई सम्मान गरिएको थियो। साथै, सञ्चार क्षेत्रमार्फत प्रतियोगिताको प्रचार–प्रसारमा योगदान पुर्‍याएको भन्दै सञ्चारकर्मी किशोर उपरकोटीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।