लाइन काटेको रिसमा विद्युत् कर्मचारीमाथि आक्रमण, आरोपी प्रहरी नियन्त्रणमा


मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक स्थल मन्दिरमा हुक लगाएर बालेको वत्ती विद्युत्तका कर्मचारीले काटिदिएपछि मेचीनगर ६ का स्थानीय नमुना टोलका जुद्दे लिम्बुले कर्मचारीद्धय अमितेस मिश्र र विकास जोगीमाथि कुटपीट गरेका थिए । कुटपीटपछि प्राधिकरणले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले लिम्बुलाई नियन्त्रणमा लिएको हो ।घटना यसरी भयो

झापाको मेचीनगर ६ बर्मेली टोलको गैरीगाउँमा शिवालय मन्दिर छ । मन्दिर व्यवस्थापन समिति र स्थानीयले सार्वजनिक क्षेत्र भन्दै विगतदेखि नै (हुँक) तार प्रयोग गर्दै बत्ती बाल्दै आएका थिए । दर्ता प्रकृया पूरा नभएको मन्दिरमा (हुँक) तार प्रयोग गरेर निरन्तर बत्ती बाल्दै आए । अव्यवस्थित र अवैधानिक रुपमा तार प्रयोग गरेर जोखिम हुने भन्दै स्थानीयले प्राधिकरणलाई सूचना दिएका थिए । सूचनााको आधारमा धुलाबारी शाखा प्रमुख शम्भूप्रसाद मण्डलले काँकरभिट्टा फिडमा खटिने कर्मचारी दुईजना कर्मचारीलाई उक्त क्षेत्रको अनुगमन गर्न खटाएका थिए ।

मन्दिरका व्यवस्थापन समिति र स्थानीयसमक्ष विद्युत्तका कर्मचारीले विद्युत्त प्रयोग गर्ने वैधानिक प्रकृयाको विषयमा सचेत गराउँदै पोलछेउको नाड्गो तारमा लगाइरेको हुँक तार छुटाइदिएका थिए । पोलबाट कर्मचारी उत्रिएपछि स्थानीय नमुना टोलका जुद्दे लिम्बुले कर्मचारीद्धय अमितेस मिश्र र विकास जोगीमाथि आक्रमण गरेका थिए । माधक पदार्थ सेवन गरेका लिम्बुले कर्मचारीमाथि सुरुमा अपशब्द, अस्लिल शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए ।

सम्झाउन खोज्ने कर्मचारी मिश्रमाथि लिम्बुले मुक्का प्रहार गरेका थिए भने जोगीमाथि ढुंगा प्रहार गरे । कुटपीटपछि मिश्रको अनुहार र आँखामा गहिरो चोट लागेको छ भने जोगीको खुट्टामा सामान्य चोट लागेको विद्युत्त प्राधिकरण शाखाका प्रमुख मण्डलले जानकारी दिए । कर्मचारीमाथि कुटपीट गरेको घटनाको प्रहरीकहाँ उजुरी परेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले लिम्बुलाई नियन्त्रणमा लिएको छ ।