आज नगरपालिका दोस्रो नगरसभाको छैटौं अधिवेशनको अध्यक्षता गर्दै मेयर बुढाथोकीले मेचीनगरको सर्वत्र चर्चामा रहेको ढुंगा, गिटी र बालुवाका विषयमा यस्तो बताएका हुन् ।
२०७९ जेठ १२ गते सपथ ग्रहण गरेदेखि २०७८/०७९ को नदीजन्य पदार्थ उत्खननका विषयमा कानुनी समस्या रहेको उनको भनाई छ ।
उनले नगरको मुख्य आम्दानीको श्रोत रहेको ढुंगा, गिटी र बालुवाको ठेक्का लगाएर स्टक प्रमाणित गरेर राख्दा ठेकेदारलाई कानुनले समस्या बनाएको बताए ।
‘त्यतिबेला नगरले ५ करोडमा ठेक्का दिएको थियो’, बुढाथोकीले भने–‘ठेकेदारले नदीजन्य सामग्री खोलाको नजिक स्टक गरेर राख्यो । त्यो स्टक गरेका सामग्री ठेकेदारले झिकेर अहिलेसम्म लान सकेको छैन । संघीय कानुनले छेक्यो । नदी क्षेत्रको १२ सय मिटरभित्र स्टक गरिएका उक्त सामग्री तत्काल उठाएर लानु पर्छ । उक्त सामग्री जेठदेखि असार मसान्तभित्र उठाउन पाएनन् ।’
बुढाथोकीका अनुसार नदीजन्य पदार्थबाट वार्षिक ५÷७ करोडमा ठेक्का लाग्थ्यो । दुई वर्ष बढी भयो ठेक्का लागेको छैन । कर दातालाई अन्यया भएको छ । महालेखा परीक्षकको कार्यालयले लीलामी गर्नु पर्ने सुझाव दिएको छ ।
नगरसभाले नदीजन्य पदार्थ उत्खननका विषयमा कानुनसँग नबाझिने गरी ठोस नीति बनाएर अघि बढ्ने बुढाथोकीको दावी छ ।
त्यस्तै उनले करका विषयमा गलत नगर्ने राम्रो काम गर्न केहि शिर्षकहरुमा करको दायरालाई फराकिलो पार्ने बताएका छन् । घरबहाल कर, चारकिल्ला, बाटोको सिफारिस लगायतका विषयमा राजस्व परामर्श समितिको रायसहित नगरसभाले निर्णय गरेर जाने बुढाथोकीको भनाई छ ।