खानेपानी संस्थालाई आर्थिक रुपमा पारदर्शी बनाउनेछौं : सुदर्शन खड्का


काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । निर्वाचनका क्रममा स्वतन्त्र खानेपानी उपभोक्ता समूहका अध्यक्ष पदका उम्मेदवार सुदर्शन खड्कासँग गरिएको कुराकानी

तपाईं चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ?

–यो चुनावी प्रक्रिया हो । सामाजिक क्षेत्रमा क्रियाशील भएपछि यस्ता सामाजिक संस्थामा रहेर केही गरौं भन्ने सोचको विकास भएपछि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु । यस्ता संघसंस्थामा राजनीतिक हस्तक्षेप नहुनु पर्ने हो तर लामो समयदेखि राजनीतिक नेतृत्व हावी हुँदै गएको छ । त्यसैले हामीले स्वतन्त्र व्यक्तिहरुलाई समेटेर स्वतन्त्र उपभोक्ता समूह बनाएर निर्वाचनमा होमिएका छौं, निर्वाचनलाई स्वभाविक रुपमा लिएको छु ।

खानेपानीका चुनौतिहरु के के छन् ?

–खानेपानीमा चुनौतिका चाङ छन् । वर्षौंदेखि लेदो पानी आउने क्रम अझै रोकिएको छैन । पाइपलाइनको सरसफाइ छैन । ढल तथा निकासको समस्या छ । पानीको मुहान सुक्दै गएका छन् । सडक सञ्जाल बढ्दै गएको छ । यसले आगामी दिनमा थुप्रै पाइप फुट्ने सम्भावना छ । ती सबै खाले समस्याको समाधान गरी खानेपानी सहज तरिकाले उपलब्ध गराउनुपर्ने लगायतका धेरै चुनौति छन् । त्यसैगरी गरीब, विपन्न परिवारलाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउनु छ । हामी ती सबै खाले चुनौतिलाई सामना गर्ने गरी अघि बढेका छांै ।

तपाईंंका चुनावी एजेण्डा के के छन् ?

–हामीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छौं । स्लोगनमै एउटा महत्वपूर्ण कुरा उठाएका छौं, ‘खानेपानीको स्वच्छता र शुद्धता आर्थिक पारदर्शिताको पूर्ण प्रतिबद्धता,’ । हामी संस्थालाई आर्थिक रुपमा पारदर्शी बनाउने छौं । खानेपानीको उत्पादन क्षमता बृद्धि गर्ने र बञ्चित समुदायमा खानेपानीको सहज पहुँच निर्माण गर्ने । गरिब र विपन्न वर्गलाई पहिचान गरी जडान शुल्क र मासिक शुल्कमा न्यूनतम मापदण्ड तयार गरी सहयोग पुर्याउने । सार्वजनिक शौचालय र सार्वजनिक विद्यालयमा निःशुल्क खानेपानीको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धताहरु रहेका छन् । यी हुन् चुनाव जित्ने प्रतिबद्धता र एजेण्डाहरु हुन् । यी उठाएका एजेण्डा हामीले जितेर गएको खण्डमा कार्यान्वयन गर्नेमा दुईमत छैन ।

तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?

–मैले प्रतिष्पर्धीलाई सामान्य र सकारात्मक रुपमा लिएको छु । संघ–संस्थामा गठबन्धन गरेर राजनीतिक दल निर्वाचनमा नजाँदा राम्रो हुन्थ्यो । तथापि यो प्रक्रिया अघि बढिसकेको छ । निर्वाचन भयरहित र मर्यादित बनाउनु पर्छ । स्वच्छ प्रतिष्पर्धाबाट उपभोक्ताले नयाँ नेतृत्व छान्न पाउनु पर्छ । राजनीतिक हस्तक्षेप हुनु हुँदैन ।

अन्त्यमा केही भन्नु छ ?

–हामी स्वतन्त्र ढंगले निर्वाचनमा आएका छौं । बर्षाैंसम्म राजनीतिक दलले बागडोर समालेको यस खानेपानीमा केही परिवर्तन गराउने सोचका साथ हामी निर्वाचनमा होमिएका छौं । तपाईंहरुले अमूल्य मत दिएर विजयी गराउनु होला । कोही उम्मेदवार हाम्रो टिमबाट निर्वाचित होलान्, कोही अर्काे प्यानलबाट सबै मिलेर काम गर्नेछौं ।