काँकरभिट्टा खानेपानी निर्वाचनः प्रगतिशील समाजबादी प्यानलको अध्यक्षमा आचार्य


मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनमा नेकपा एमालेले जनता समाजबादी पार्टी (जसपा) लाई साथमा लिएर उम्मेद्वारहरु सार्वजनिक गरेको छ । शुक्रबार मेची संघको सभाहलमा आयोजित कार्यक्रममा एमाले र जसपाले प्रगतिशील समाजबादी प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका हुन् ।

दुई दल सम्मिलित समाजवादी प्यानलले अध्यक्षमा पत्रकार सन्तोष आचार्यलाई अघि सारेको छ । आचार्य नेकपा एमालेबाट हुन् । सचिव पदमा जनता समाजबादी पार्टीका तर्फबाट दिलीपजंग सुब्बा उम्मेद्वारी रहेको छ । सुब्बा वत्र्तमान कार्य समितिको समेत सचिव हुन् । उपाध्यक्षमा गोविन्द्र गिरी र कोषाध्यक्षमा बिमला तामाङले उम्मेद्वारी घोषणा गरेका छन् । गिरी एमालेबाट र तामाङ जसपाबाट हुन् ।  सदस्यमा तीर्थ नेपाल (एमाले), परशुराम निरौला (एमाले), डिल्ली काफ्ले (एमाले), मीरा कार्की (एमाले) र इन्दिरा कार्की (एमाले) बाट उम्मेद्वार बनेका छन् । लेखा समितिको संयोजक पदमा बिकेन्द्र धिमाल (एमाले), सदस्यमा जसना राजबंशी (एमाले) र बालकुमार भुजेल (जसपा) बाट उम्मेद्वारी लिएका छन् ।
उम्मेद्वार घोषणा सभामा बोल्ने बक्ताहरुले नेकपा एमाले र जनता समाजबादी पार्टीबीचको गठबन्धन पवित्र भएको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रविन कोइरालाले महत्वपूर्ण काम गरेको हो, उसैलाई श्रेय दिने परिपाटीको विकास गर्नु पर्ने बताए । स्वस्थ्य राजनीतिक प्रतिष्पर्धाबाट खानेपानीको निर्वाचन आपूहरुले जित्ने दावी गरे । ‘अरुलाई होच्याएर हामी अग्लो हुन चाँदैनौं,’कोइरालले भने, ‘वर्तमान कार्यसमितिले धेरै राम्रा काम गरेको छ । जसलाई उपभोक्ताले मुल्याङ्कन गरेर मत दिनु हुन्छ ।’

नेकपा एमाले नेता तथा पूर्व प्रदेश सांसद श्रीप्रसाद मैनालीले एमाले र जसपाले पवित्र गठबन्धन गरेको बताए ।
यो गठबन्धनले चुनावी मैदानमा उतारेका उम्मेद्वारहरु अनुभवीे विज्ञ र स्वच्छ छवि भएकाहरु रहेको जनाउँदै एमालेले अहिलेको कार्यसमितिको सफलतापूर्वक नेतृत्व गरेर जनताको मन जितिसकेको उनले बताए ।
यसैगरी, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले नेपाली कांग्रेस पूँजीबादी पार्टी भएको हुँदा उसँग आफ्नो पार्टीले गठबन्धन गर्न नरुचाएको बताए ।

समितिका अध्यक्ष राजकुमार पराजुलीले २३ वर्षपछि एमालेको नेतृत्वमा खानेपानीमा नयाँ टिम आउँदा आफुले काम गरेर उपभोक्ताको मन जितेको चर्चा गर्दै त्यस विरासतलाई जोगाउँदै थुप्रै नयाँ काम गर्नका लागि अहिले एमालेको नेतृत्वमा रहेको प्रगतिशील समाजबादी प्यानलका उम्मेद्वारहरुलाई जिताउनुको बिकल्प नरहेको धारणा व्यक्त गरे ।

अध्यक्ष पदका उम्मेद्वार सन्तोष आचार्यले आफुले लामो समयसम्म खानेपानी संस्थामै पसिना बगाएको र उपभोक्ताहरुको समस्याबारे पूर्ण जानकार भएको चर्चा गर्दै मुहानदेखि मुखसम्म सुरक्षित पानी पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

सचिव पदका उम्मेद्वार दिलीपजंग सुब्बाले तीन वर्षदेखि उपभोक्ताले देख्ने र थाहा पाउने गरी काम गरेको जनाउँदै आफुहरु गफ होइन काम गर्न उम्मेद्वार बनेको बताए । उनले खानेपानीका उपभोक्ताहरु रहेको सबै वडामा नेकपा एमालेका उम्मेद्वारहरुले स्थानीय तहको चुनावमा जितको चर्चा गर्दै खानेपानीको चुनाव पनि यस गठबन्धनले सहजै जित्ने दावी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य मीना उप्रेती, केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, अर्का केन्द्रीय सल्लाहकार भीम खवास लगायतको उपस्थिति रहेको थियो ।