‘भारतीय भूमिबाट आएको हात्तीलाई उतै फर्काउनु पर्छ’


मेचीनगर । मेचीनगर -४ बाहुनडाँगी क्षेत्रका नागरिक समाज, सामाजिक अभियान्ता, राजनीतिकदल तथा मेचीनगर-४ नम्बर वडा कार्यालय, बाहुनडाँगी वासीले वर्षैदेखि हात्तीका कारण भोग्नु परेको समस्या समाधनको लागि एक मत भएका छन् । वर्षैदेखि जंगली हात्तीबाट मानवीय तथा अन्य बिभिन्न क्षतिको सामना गरिरहेका बाहुनडाँगी बासी विवेक प्रविधिबाट मानव हात्ती द्वन्द न्यूनीकरण गर्न सकिने निश्कर्षमा पुगेका छन् । जस्कोलागि ब्यापक जनचेतना जगाउनुपर्ने उनीहरुको बुझाई छ ।
कोशी सरकारले हात्ती करिडोर निर्माणकोलागि भोलिबाट गर्ने पद यात्राको पूर्व सन्ध्यामा आज वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागिहरुले हात्ती करिडोर निर्माण बाहुनडाँगी वासीको हात्ती समस्या समाधानको भरपर्दाे उपाय नभएको बताए । ‘हात्ती करिडोर निर्माणले कस्तो रिजल्ट दिन्छ, त्यो हामीलाई थाहा छैन्,’ नागरिक समाज बाहुनडाँगीका अध्यक्ष निलकण्ढ तिवारीले भने, ‘भारतीय भूमिबाट हात्ती नेपाल प्रवेश गर्न नदिएर भारतीय भूमिमै फर्काउनु पर्ने र यदी हात्ती नेपाल प्रवेश गरेर बालीनालीमा क्षति गरे सरकारले तत्काल उचित क्षति पूर्ति दिनु पर्छ । यो अवस्था भए मात्र बाहुनडाँगी वासीको पीडा कम हुन्छ ।’
नागरिक समाज, साजनीतिक दल तथा वडा कार्यालयले वाहुनडाँगी वासीको पीडालाई कम गर्न सकिने ११ बुँदे ज्ञापन पत्र तयार पारेका छन् । सो ज्ञापन पत्र भोलि मुख्य मन्त्रीलाई बुझउने कार्यक्रम रहेको तिवारीले बताए ।
वडाध्यक्ष अर्जुन कार्कीले करिडोरका नाममा बाहुनडाँगी बासीहरुको घर भत्काउने बस्ती हटाउने अभियान हुनु हुँदैन उनले भने, त्यो अभियान हाम्रोलागि स्वीकार्य हुने छैन् । हामी बाहुनडाँगी बासीको खुशी चाहन्छौं ।’
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि निरज कट्टेलले भारतीय भूमिबाट जंगली हात्ती रातभर बाहुनडाँगीमा आउने र अन्न तथा मानविय क्षति गरेर विहान उतै फर्कने गरेको कारण बाहुनडाँगी बासीले ठूलो आर्थिक तथा मानवीय क्षतिको सामना गरिरहनु परेको बताए । हात्ती रोक्न विद्युतीय तरबारलाई थप ब्यवस्थित गर्नु पर्ने उनको भनाई थियो । घिमिरेले बाहुनडाँगी बासीले यस अघिनै हात्ती करिडोरबाट हात्ती समस्या हल नहुने भनि नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएको स्मरण गराए ।
शुभचिया सहकारी संस्थाका अध्यक्ष रमेश दाहालले हात्ती करिडोरले बाहुनडाँगी बासीलाई थप समस्यामा पार्ने धारणा राखे । उनले भारतीय हात्ती करिडोर हुँदै पश्चििम तर्फ जाँदा नेपाल देशकैलागि थप ठूलो क्षति हुने उनको भनाई थियो ।
समाजसेवी गोविन्द न्यौपानेले हात्ती मैत्री हुन हात्तीकोलागि आहारा, बासस्थान तथा मनोरञ्जनका कुराहरु आवश्यक रहेको बताए । उनले पूर्वाधारको विकास नभए सम्म त्यो सम्भव नहुने स्पस्ट पारे । उनले हात्तीकै कारण बाहुनडाँगी क्षेत्रका प्लस टु विद्यालय समेत बन्दै हुँदै गएको बताए ।
कोशी प्रदेशका मुख्य मन्त्री भोलि मानव हात्ती द्धन्द ब्यवस्थापन तथा बन्यजन्तु संरक्षण अभियानका साथ मेचीनगरको बाहुनडाँगीबाट उदयपुर सम्मको हात्ती मैत्री पदयात्रामा निस्कने भएका छन् ।