राजनीतिक सम्बादबाट सबै कुरा सम्भव छ : मन्त्री राई


मेचीनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर बहादुर राइले एउटा जातिको लागि पहिचाको नाममा एउटा नाम भन्दा उसको भाषा धर्म लिपी र संस्कृतिको संरक्षण गर्नु महत्वपूर्ण र ठूलो कुरो भएको बताएका छन् ।

शनिबार मेचीनगर– १३ स्थित चारआलीमा चारजातिले एकताको संदेश दिँदै आयोजना गरेको संयुक्त ल्होछार (डुग ल्हो) कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सो कुरा बताएका हुन् ।

उनले कुनैपनि जातिको भाषा धर्म र संस्कृतिको संरक्षण हुन नसके त्यो जाति क्रमश पलायन हुने र त्यसको अस्तित्व समेत समाप्त हुने बताए ।
कोशी प्रदेशको विरोधमा उठेका आवाजहरुलाई सम्बोधन गर्न सरकारले बार्ता टोली गठन गरिसकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री राईले सरकारले बार्ताबाटै समाधान खोज्ने बताए । ‘राज्यमा पुगेपछि बन्दुक ताकेर मात्र होइन, जनताको कुरा सुनेर सम्बाद गरेर निस्कर्श निकाल्न सकिन्छ भन्ने चेत कोशी सरकारसँग छ’, उनले भने, ‘राजाबाट अपहरण भएको संसद राजनीतिक संवादबाटै पुर्नस्थापित भएको हो । साजनीतिमा सबैकुरा सम्भव हुन्छ ।’

उनले पहिचानकाको कुरालाई कुनैन कुनै ढंगले स्थापित गरेर जाने बताए । प्रदेशको नामाकरण मात्र पहिचानको सम्पूर्ण कुरा होइन,उनले भने,‘हामी सदियौंदेखि ल्होछार मनाउँदै आएका छांै, यस्ता हाम्रा धर्म, संस्कार, संस्कृति, र लिपीको संरक्षणमा सरकारले भूमिका निर्वाह गर्नु पनि ठूलो पहिचानको कुरा हो ।’

उनले सबै जातजातिको भाषा धर्म लिपी, संस्कृतिको संरक्षणमा कोशी प्रदेश सरकार कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कोशी प्रदेसमा २ लाख मुटु रोगी भएको बताउँदै मन्त्री राईले सरकारले कोशी प्रदेशमा मुटु फेर्नेगरी मुटु अस्पताल निर्माण गरिसकेको बताए । उनले १० वर्ष सम्मका बालबालिकाको निःशुल्क औषधि उपचारको प्रवन्ध समेत सरकाले गरेको र आगामी फागुनदेखि कोशी प्रदेशमा जलन अस्पताल समेत सञ्चालन गर्ने सरकारको योजना सुनाए ।

पर्यटनलाई संस्कृतिसँग जोड्नु पर्नेमा जोड दिएका मन्त्री राईले हात्ती समस्या समाधानको लागि कोशी प्रदेश सरकार हात्ती करिडोरको महाअभियान सञ्चालन गर्ने तयारीमा रहेको समेत बताए ।
कार्यक्रमकी विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य सविना बजगाईँले बिभिन्न कुराहरुले युवा जनशक्ति दिग्भ्रमित भइरहेको अवस्थामा भगवान बुद्धको दर्शन, बौद्धको ज्ञानको प्रभावले सबैलाई सकारात्मक उर्जा प्रदान गरिरहेको बताइन् । ‘बौद्ध धर्मवालम्बीहरु ज्ञान र अहिंसाका प्रतिक हुन्।,’ उनले भनिन्,‘बुद्ध भगवानको ज्ञानको प्रभावकै कारण चारआली क्षेत्रमा युवाजनशक्तिहरु उर्जाशील भएर समाज रुपान्तरणको अभियानमा अग्रसर छन् ।’ उनले बिभिन्न जातजाति समुदायहरुको बाहुल्यता भएको चारआलीक्षेत्रका मानिसहरुको एकता लोभलाग्दो भएको समेत बताइन् ।
कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले ल्होछार पर्वले समाजलाई जोडेर एकताबद्ध बनाउने बताए । ‘बिभिन्न जातजाति र धर्मावलम्बीहरुको समिश्रणबाट हाम्रो समाज निर्माण भएको छ । हामी एकले अर्काको अस्तित्व स्वीकार गरेर त्यसलाई हातेमालो गरेर रमाउँदै आएका छौं’, उनले भने,‘यो समाजलाई जोड्ने महाअभियान हो, यो हाम्रो हाम्रो समाजको सुन्दर पक्ष हो ।’
फरक– फरक मितिमा मनाउँदै आएको ल्होसार पर्वलाई यहाँका चारजातिले एक साथ एकताको संदेश दिँदै संयुक्त रुपमा मनाएको भन्दै उनले चारआलीबासीलाई धन्यवाद समेत दिए । ‘ल्होसार पर्व कुनै समय ओझेलमा पर्दै आएको थियो’ उनले भने,‘ आज मेचीनगर १३ ले सबै जातजातिको एकता र सद्भावका साथ संयुक्त कार्यक्रम आयोजना गरेको छ । यो पर्वले हामी सबैलाई समृदि र सद्भाव दिन सकोस् ।’
कार्यक्रममा मेचीनगर– १३ का वडाध्यक्ष कृष्ण सिक्देलले ल्होछार पर्व नयाँ वर्ष भएकोले नयाँ वर्षले सबैमा सद्भाव र खुसी दिनसको भनि शुभकामना दिए । उनले मेचीनगर १३ मा १३ बढी जातजातिको बसोबास रहेको र सबै एक आपसमा भाइचारा स्थापित गरेर बसेको समेत बताए ।
कार्यक्रममा राष्ट्रिय कलाकार आस्मा लोप्चनको रोचक प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरुले समेत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
संयुक्त ल्होछार समितिका अध्यक्ष फूर्वा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कुमार रानाले र सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए । कार्यक्रम शेर्पा, तामाङ, गुरुङ र मगर जातिले संयुक्त रुपमा आयोजना गरेका थिए ।