भन्सार दिवस : काँकरभिट्टामा सरोकारवालाबीच अन्तरक्रिया 


काँकरभिट्टा । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बिहीबार मेची भन्सारको सभाहलमा सरोकारवालाबीच अन्तक्र्रिया सम्पन्न भएको छ ।

मेची भन्सार कार्यालय र मेची उद्योग वाणिज्य संघको संयुक्त आयोजना रहेको कार्यक्रममा सहभागिहरुले पछिल्लो समय पूर्वी नाका काँकरभिट्टा व्यवस्थित गर्न सम्बन्धित निकायहरुले ध्यान नदिँदा अस्तब्यस्त बन्दै गएको आरोप लगाएका छन् । बस्तुको आयात तथा निर्यात प्रक्रियामा भन्सारले थप सहयोगी भूमिका निर्वाह गर्नु पर्ने उनीहरुको धारणा थियो ।

नेपाल प्लाइउड संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा प्रमुख अतिथि घिमिरेले वैध वस्तुको आयातमा बढेको करका कारण उद्योगी एवं व्यवसायी मारमा परेको बताए । भन्सारले लिएको लक्ष्य हासिल गर्ने क्रममा थपिएको करले उद्योगीरव्यवसायी संकटमा परेका उनको भनाई थियो ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, व्यवसायी नारायण बस्नेत, गणेश खरेल, नाइट चेस क्लवका अध्यक्ष विश्वविजय घिमिरे, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला, चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रुक्मिणि पोखरेल, नेपाल भेनियर उत्पादक संघका वरिष्ठ उपाध्यक्ष श्याम न्यौपाने, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवास लगायतले बस्तुको आयात निर्यात प्रक्रिया तथा अस्तब्यस्त नाकालाई व्यवस्थित गर्न खेल्नु पर्ने भूमिकाको बारेमा सुझाव दिएका थिए ।

अन्तक्र्रियामा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्ले, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरे, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी प्रस्तावित गुल्म काँकरभिट्टाका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र खनाल, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज एवं ट्राफिक प्रहरी नायव निरीक्षक मनमोहन पौडेललगायतको आतिथ्यता रहेको थियो । संघका कार्यकारी प्रमुख गोपाल बस्नेतले छलफलबाट प्राप्त सुझाव उद्योग तथा व्यवसायमा देखापरेका समस्या निराकरण गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले कर प्रणाली सुधारबारे उपयुक्त सुझाव दिन र भन्सारमा देखिएका समस्या र सुधारकालागि खेल्नुपर्ने भूमिकाका बारेका समेत सरोकारवाला सँग सुझाव मागेका थिए । उनले सहभागिहरुको जिज्ञासा समेत मेटाएका थिए । नाका पूर्णरुपमा नखुल्नुलगायत विविध कारणले राजस्व संकलनमा भन्सारले लिएको प्रगति सन्तोषजनक नरहेको उनको भनाई थियो ।

मेची उद्योग वाणिज्य संघका संघका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।