मेचीनगरबाट नेपाल–भारत सीमा स्तम्भको मर्मत सुरु


झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१ र १ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गरे ।

बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए । उनले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।

झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देबराज अर्यालले बताए । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने उनले बताए ।

झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र आज मर्मत सम्भार सुरु भएको सतिघ्ट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने उनले जानकारी दिए । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।

नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न आजैदेखि प्राविधिक टोली परिचालन गरिएको उनले बताए ।

नेपाल–भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य हाल समेत भइरहेको छ । झापा जिल्लामा रहेको सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ । दशगजामा स्थानीयबासीले कतिपय स्थानमा घर निर्माण गरेका छन् भने अधिकांश अतिक्रमित स्थानमा खेतीपाती छ । केही स्थानमा सडक र कुलो पनि रहेको छ ।

सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं। बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।