शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु


अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा मंगरवारबाट शुरु भएको छ ।

पाँचवटा सेवा केन्द्र रहेको संस्थाको सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण सभा शुरु भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षातामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली रहेकी थिइन् ।

साधारण सभाको उद्घाटन पश्चात शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पराजुलीले सहकारी संस्थाप्रति सदस्यले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिइन् । धेरै सहकारी संस्थाहरु समस्यामा रहेको बताउँदै उनले नगरपालिकामा समेत धेरै उजुरी आउने गरेको सुनाइन् । शिक्षा सहकारीको प्रतिवेदन अध्ययन गर्दा संस्थाको कोषको अवस्था राम्रो पाएकाले यो सहकारी अरुभन्दा सक्षम रहेको आफूलाई लागेको उनको भनाई थियो ।

सो अवसरमा सदस्य सेवा केन्द्र शनिश्चरे अन्तरगत तीनजना सदस्यलाई सम्मानसमेत गरिएको छ । संस्थाका आवधिक बचततर्फ भरत धिमाल, शिक्षातर्फ त्रिमेश दाहाल र उत्कृष्ट ऋणीतर्फ लक्ष्मी तामाङलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिएका थिए । शिक्षाले सदस्य केन्द्रित धेरै सुविधा र योजना ल्याएकाले लाभ लिन सदस्यलाई उनको आग्रह थियो ।

त्यस्तै, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कोष क्रमशः बृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको उनले जनाए । गत आवमा संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको उनले बताए ।

कार्यक्रममा ऋण उपसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले आर्थिक वर्ष २०७९र०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करो ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको जानकारी दिए ।

त्यस्तै, संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ । संस्थामा हाल चार हजार ७२० जना शेयर सदस्य छन् भने ३३ जना कर्मचारी रहेका छन् । मुख्य कार्यालय बिर्तामोडसहित शनिश्चरे, धाइजन, धुलाबारी, चैतुबारी र दुर्गापुर सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको इकाइगत साधारण सभामा आमन्त्रित तथा उपस्थितहरुलाई उपाध्यक्ष हेमराज मिश्रले शाब्दिक स्वागत गरेका थिए ।