चारआली खानेपानी : कर्मचारी र उपभोक्ता सम्मानित


चारआली । चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मेचीनगर–१२ ले सोमबार एक कर्मचारीसहित तीनजनालाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १५ ओैँ परिषद सभाको अवसर पारेर कर्मचारी सहचालक गोपाल सुवेदी, संस्थागतरूपमा बर्षोत्कृष्ट उपभोक्तामा शहीद दशरथ चन्द माध्यामिक विद्यालय र व्यक्तिमा उपभोक्ता घनश्याम चिमरियालाई सम्मान तथा पुरस्कृत गरेको हो ।

१५ ओैँ परिषद सभाका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख हृदय राजवंशी, कार्यपालिका सदस्य अमित खम्बु, संस्थाका अध्यक्ष मधुसुदन निरौला, पूर्व अध्यक्ष एवम् सल्लाहकार संयोजक लालबहादुर थेवेले अविर फूलमाला पहिर्याएर पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए । वर्षउत्कृष्ट उपभोक्तालाई एक वर्षको न्यूनतम पानीको महशुल वापतको नगद रकम २ हजार ५ सय तथा वर्षउत्कृष्ट कर्मचारीलाई सम्मान पत्र र उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यवहाक नगरप्रमुख राजवंशीले नेपालको संविधान २०७२ ले शुद्ध र सफा पिउने पानी हरेक नागरिकको नैसर्गिक अधिकार भएको स्पष्ट पारेकाले यो अधिकारबाट नागरिकलाई बञ्चित पार्न नहुने स्पष्ट पारे । उनले नगरपालिकाक्षेत्रभित्र ३ वटा ठुल्ठुला खानेपानी आयोजना रहेकाले यिनीहरूको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । नगरको सवैभन्दा ठुलो समस्या फोहोर व्यवस्थापन भएको भन्दैँ कार्यवहाक नगरप्रमुख राजवंशीले यसको उचित व्यवस्थापन गर्न सके मोहोर आर्जन गर्न सकिने स्प्षट पारे ।

संस्थाका अध्यक्ष मधुसुदन निरौलाले १५ ओैँ परिषद सभाको अध्यक्षता गर्दैँ सञ्चालक समितिकातर्फबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विसं २०६३ देखि प्रारम्भ गरी २०६५ सालमा स्थापित यस आयोजनाले साविक धाईजन–६ र मेचीनगर–१२ को भूमिगत मूल स्रोत मानि नेपाल सरकारको ७० र स्थानीय उपभोक्ताहरूको ३० प्रतिशत साझेदारी कार्यक्रम अनुसार २१ करोड ७७ लाख १२ हजार ७४० रूपैयाँमा निर्माण कार्य सम्पन्न भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । वर्तमान अवस्थामा मेचीनगर ११ र १२ हडिया पश्चिम १३ र १४ को केही भाग साथै अर्जुनधारा नगरपालिका उपभोक्ता , शिक्षण संस्था, स्वास्थ्य केन्द्रलाई सहजरूपमा शुद्ध र सफा पिउने पानी उपलब्ध गराउँदैँ आएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाकी उपाध्यक्ष पुष्पादेवी लिम्बु बोखिमले स्वागत गरेको उद्घाटन सत्रमा लेखा समिति संयोजक मोहन अधिकारीले सुझावसहितको लक्ष्य र प्रगति समेटिएको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा २ हजार ९ सय ५२ वटा धारा भए पनि ७३ वटा धारा बन्द गरिएको र हाल २ हजार ८ सय ७६ वटा धारा चालु रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा सल्लाहकार समिति संयोजक लालबहादुर थेबे, सदस्य शंकरप्रसाद पोखरेल, सम्मानित संस्था तथा व्यक्तिहरूकातर्फबाट शहीद दशरथ माध्यमिक विद्यालयका प्रधानध्यापक लेखनाथ पौडेल, संस्थाका संस्थापक अध्यक्ष शरद शिवाकोटी, मेचीनगर कार्यपालिका सदस्य अमित खम्बुलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव टंक रिजालले गरेका थिए।