यसरी भएको थियो मेचीनगर–८ का सुन्दरलाल किसानको हत्या


 मेचीनगर । सुन्दरलाल किसानको हत्याका आरोपित दुई जनासहित बिस्तृत जानकारी सार्वजनिक भएको छ । गत साउन ३२ गते झापाको मेचीनगर नगरपालिका–८ का ३५ बर्षिय सुन्दरलालको हत्याको अनुसन्धानमा फेला परेका बिबरणसहित शनिवार (आज) प्रहरीले हत्याका आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेचीनगर ८ मुनियाँटोलका ५६ बर्षिय रामजी किसान र सोही स्थानका ४८ बर्षिय सुनरसी किसानलाई प्रहरीले पक्रउापछि सार्वजनिक गरेको छ ।

घटनापछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षकको कमाण्डमा सो स्थानमा गई अनुसन्धान गर्ने क्रममा घटनास्थलमा फलामको रडबाट बनेको खन्ती बांगिएको अवस्थामा र एक जोर सेतो रङ्गको प्लाष्टिकको चप्पल फेला परेको प्रहरीले जनाएको छ ।

मेचीनगर-८ मुनियाँटोलस्थित होलीपैनीको कल्भर्ट छेउ बाटोको बिभिन्न ठाउँमा रगतहरु छरिएर रहेको देखेपछि सो स्थानमा केही घटना घटेको हुनसक्ने आशंका गरी प्रहरीलाई सूचना गरेको गरिएको थियो ।

सुन्दरलाल किसान अघिल्लो दिन बेलुकी घरबाट निस्की फर्की नआएको सूचना समेत प्रहरीलाई प्राप्त भएपछि घटनास्थलमा फेला परेको चप्पल मृतक सुन्दरलाल किसानको श्रीमतीलाई देखाउँदा आफ्नो श्रीमानको चप्पल हो भनी सनाखत गरि दिएकी थिइन् ।

रगतको टाटा भएको, चप्पल भेटिएको तथा बाँङ्गिएको रडको खन्ती भेटिएको स्थानबाट दक्षिणतर्फ धान रोपेको खेतमा घाइते बनाएर घिसारेको जस्तो अनुमान गर्न सकिने किसिमको नाली बनेको र सो नाली होलीपैनीमा लगेर हालेको जस्तो देखिएकोले घटना झन रहस्यमय हुन आएको थियो ।

प्रहरी टोलीले सर्च अपरेशन चलाई धान रोपिएको खेत तथा होली पैनीको सम्पूर्ण भागमा हेर्दा अनुसन्धान सुरु गरेको स्थानबाट झण्डै ६०० फिट दक्षिण पैनीमा रहेको बुट्यान झाडिले पुरेको अवस्थामा शरीरको बिभिन्न भागमा गम्भीर चोटपटक पुर्याई वीभत्स तरिकाले कर्तव्य गरी हत्या गरेर लाश गाडेको अवस्थामा सुन्दरलाल किसानको लाश फेला परेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकारभिट्टाले संयुक्त रुपमा अनुसन्धान कार्यलाई तीव्ररुपले अघि बढाई नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको डग शाखाबाट कुकुर समेत झिकाई डग स्निफिङ्ग गरि घटनाको अनुसन्धान गरिएको थियो ।

प्रहरीले स्थानीय व्यक्तिहरुसँग सोधपुछ तथा टेक्निकल रुपले समेत अनुसन्धान अगाडी बढाइएको थियो ।

डग स्निफिङ्ग गराउँदा स्थानीय सुनरसी किसान र रामजी किसान ९सहोदर दाजुभाई० नै नदेखिएको र घटना स्थलमा फेला परेको रडको खन्ती सुनरसी किसानको हुनुपर्छ भन्ने सूचना प्राप्त भएपछि उनीहरुको सम्बन्धमा स्थानीयहरुसंग समेत बुझ्दा निजहरु दुवैजना भारततर्फ गएको भन्ने बुझिन आएपछि उनीहरुका आफन्त नातागोताहरुसँग समन्वय गरी सोधपुछको लागि पुनः नेपाल झिकाइएको र नियन्त्रणमा लिईएको हो ।

उनीहरुलाई सोधपुछको क्रममा उनीहरुले गत साउन ३१ गते साँझको अन्दाजी ८ बजे समयमा सुन्दरलाल किसान मादक पदार्थ सेवन गरी एक्लै हिड्दै रामजी किसान र सुनरसी किसान बसिरहेको कल्भर्टमा आइ गालीगलौज गरेको निहुँमा झगडा परेको कुरा आरोपितहरुले बताएको र घटना घटाएको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको, घाटी, हात तथा अन्य बिभिन्न भागमा चोट पुर्याई सुन्दरलाल किसानलाई हत्या गरेको र लाशको व्यवस्थापन गर्ने क्रममा निजहरु दुवैजनाले मृतकलाई कल्भर्टबाट दक्षिणतर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर तल पुर्याई झाडी बुट्यानले छोपी वारदातमा प्रयोग गरेको धारिलो हतियार सिकललाई लाश रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याकेको कुरा स्विकार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी अनुसन्धानमा आरोपितहरु र मृतक बीचमा लामो समयदेखि पारिवारिक रीसइवी रहेको र आरोपितहरुले सुन्दरलाललाई मार्ने नियतले बेलुकापख होलीपैनीको कल्भर्टमा धारिलो हतियार ९सिकल० र खन्तीसहित ढुकेर बसेर उनलाई एक्लै फेला पारी मृतकसँग विवाद गरी धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको देखिन आएको र थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।