झापा क्रिकेट संघले गर्यो खेलाडी र प्रशिक्षकलाई सम्मान


झापा । झापा जिल्ला क्रिकेट संघले दर्जनौँ खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज (बुधबार) काँकरभिट्टास्थित खानेपानी संस्थाको सभाहलमा आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई संघले सम्मान गरेको हो ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, संगीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योति दर्नाल र रोमा थापालाई सम्मान गरियो भने प्रशिक्षकहरु बिरु श्रेष्ठ र लाक्पा तामाङलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले मेचीनगरमा आवश्यक खेल मैदानको अभाव रहेको बताए । मेचीनगर खेल क्षेत्रको उर्वरभूमि भएको चर्चा गर्दै तामाङले खेल क्षेत्रमा अझ लगानीको खाँचो रहेको औंल्याए । ‘मेचीनगरमा विद्यालयका खेल मैदान पर्याप्त छन्,’ उनले भने, ‘तर सबैजसो खेल मैदान विवादमा छन् । विवाद समाधान गरेर खेल क्षेत्रको विकासमा लाग्नु हामी सबैको दायित्व हो ।’
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश श्रेष्ठ, मेची उद्योग वाणिज्य संघ मेचीनगर अध्यक्ष खेमराज प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।
संघका अध्यक्ष प्रविण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव लाक्पा तामाङले गरेका थिए भने पूर्व जिल्ला सदस्य तुलसी कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नयाँ समिति निर्माण गर्दैछ । फेरि पनि क्रिकेट संघ झापामा प्रविण थापा अध्यक्ष बन्ने निश्चित भएको छ ।