मेची क्राउनका मेन सेफ : क्रिकेटरको सपना छोडेर स्टार होटलमा चम्किए सिंह


मेचीनगर (झापा ) । परैबाट आलिसान देखिने देशकै चर्चित पाँच तारे होटल मेची क्राउन भित्र पसेसँगै एक हसिलो मुहार भएका युवक स्वागत गर्न आइपुग्छन् । आकर्षक भवन र साजसज्जाले भरिपूर्ण होटल मेची क्राउन आउने जो कोहि आगन्तुकहरुलाई ति युवकको मुस्कानले थप रोमान्चित बनाउँछ । उनको मुस्कानले होटलको सुन्दरतामा सुनमा सुगन्ध थपेको छ ।

यसरी होटलमा आएका ग्राहकहरुलाई मिठो मुस्कानले स्वागत गर्ने युवक हुन्, होटलका मुख्य सेफ प्रेम सिंह । रातो रंगको पञ्जावी टोपी र सेतो रंगको कुक ड्रैस उनको पहिचान हो । उनको पहिचानलाई मुस्कान र पाक कलाले थप अलङ्कृत गरेको छ । मेची क्राउनको खानाको चर्चा खाना पारखीहरु बीच निकै राम्रो छ । यहाँ खाना खाएर स्वादको प्रशंसा नगर्ने बिरलै होलान् ।

वि.सं. २०४८ माघ १६ गते पश्चिम नेपालको बैतडीमा जन्मिएका प्रेम सिंहले आधारभूत तहको शिक्षा नेपालमै लिए । उनले उच्च तहको शिक्षा भारतको राजिस्थानबाट लिएका हुन् । सानैबाट क्रिकेटमा विशेष रुचि भएका उनी वास्तवमा खेलाडी बन्न चाहन्थे । क्रिकेटर बन्न संघर्ष गरिरहेको समयमा उनले पार्ट टाइम काम गर्न हुन्छ भन्ने सोचेर होटल मेनेजमेन्ट पढे । होटल मेनेजमेन्ट पढेर होटलमा काम सुरु गरेसँगै उनलाई यतै चाख बस्दै गयो र उनले क्रिकेटर बन्ने आफ्नो सपनालाई त्याग गरी मुख्य सेफ बन्ने सपनाको दौड सुरु गरे । उनी भन्छन्, ‘खेलबाट जीवन चल्दैन भन्ने लागो र होटल लाइनमा छिरे । प्राइभेट काम गर्दा होटल लाइन सबैभन्दा राम्रो हो ।’ उनको सपनाको उतार चढावको कथा रोचक छ । उनको दिमागमा क्रिकेटरको सपना कहिले मुख्य सेफमा परिणत भयो उनी आफैं आश्चर्यमा छन् ।

यसरी १७ वर्ष अगाडि मुख्य सेफ बन्ने सपना लिएर होटल लाइन प्रवेश गरेका सिंह ३२ वर्षकै उमेरमा पाँच तारे होटलको मेन सेफ बन्न सफल भएका छन् । आज उनको मातहतमा करिव ४० जना पाक कलामा निपुर्ण भएका सेफहरुले काम गर्छन् । यद्दपि उनलाई आफैंलाई काम नगरी चित्त बुझ्दैन । उनले मेची क्राउनमा मुख्य सेफको जम्मेवारीमा होटलको सुरुवाती दिनबाटै काम गर्दै आएका हुन् ।

उनीसँग भारतको विभिन्न तारे होटलहरुमा काम गरेको अनुभव छ । उनले होटल मेची क्राउन पूर्व आइटिसी, रमणा, जे।डब्लु मेरेट, मेरेट, द बाइक सुपर प्लाजा र ताज प्यालेसमा काम गरेका छन् । उनले यसअघि मुख्य सेफको भूमिकामा काम नगरे पनि सहायक सेफमा काम गर्दै धेरै मिहेनत गरेर काम गरेको कारण आज मुख्य सेफ बन्न सफल भएको बताए ।

प्रेम सिंह खाना पकाउदा मिहेनत र प्रेमले पकाउन पर्छ भन्छन् । उनी दिलबाट खाना पकाउँदा कहिलै नमिठो नहुने ठान्छन् । उनी आफ्नो खानामा सकेसम्म घरमा आमाले पकाएको खानाको जस्तै स्वाद निकाल्न प्रयत्न गर्ने गरेको बताउँछन् । खाना बनाउदा धेरै मिहेनत गर्ने भएकै कारण भारतको विभिन्न सहरबाट मेची क्राउन इन्डियन खाना खानै ग्राहकहरु आउने गरेको उनको बुझाई छ । होटल मेची क्राउनको इन्डियन खाना नेपालमा साथै भारतको पश्चिम बङ्गाल र बिहार राज्यमा चर्चित रहेको सिंहले बताए । उनले प्रायः ग्राहकहरुले आफ्नो इन्डियन खानाको प्रशंसा गर्ने गरेको बताए ।

सिंह पैसा तिरेर खाना खान आउने ग्राहकलाई नराम्रो र नमिठो खाना खुवाउन नहुने बताउँछन् । उनी हाम्रो पूर्वीय दर्शनको कुरा गर्दै भन्छन्, ‘अतिथि दवो भवः, ग्राहकहरुलाई भगवानलाई जस्तै सत्कार गर्नुपर्छ र खुसी पारेर पठाउनु पर्छ ।’, उनी भन्छन्, ‘ग्राहककै कारण हाम्रो घर चलेको छ, उहाँहरुलाई खुसी बनाउनु हाम्रो धर्म हो । कसैलाई खुसी नबनाई पैसा लिए त्यसले सुख दिदैन ।’

होटल मेची क्राउन भौतिक सुखसयलमा जति सुविधायुक्त छ उति नै स्वादमा पनि । यहाँ इन्डियन, चाइनिज, एसियन र कन्टिनेन्टल खानाहरु पाइन्छ । यद्दपि यहाँ धेरै भारतीय ग्राहकहरु आउने गरेका हुनाले यहाँको भारतीय खाना विशेष चर्चित छ ।

सिंह भारतमा पढेर त्यहाँको तारे होटलहरुमा पनि काम गरेर हाल नेपाल आएर काम गरिरहेका छन् । उनी यसरी आफ्नै देशमा बसेर काम गर्न पाएकोमा धेरै खुसी भएको बताउँछन् । उनी विदेशमा यहाँ भन्दा राम्रो कमाइ भए पनि आफूलाई जान मन नलागेको बताउँछन् । उनी आफ्नै देशको होटलमा काम गरेर आफ्नो जिविका चलिरहेको कारण विदेश जाने रहर नभएको बताउँछन् । उनी जुनै काम पनि मिहेनत गरेर गर्ने हो भने नेपालमै बसेर पनि जीवन निर्वाह गर्न सकिने बताउँछन् ।

सेफ सिंह झापाका सबै नागरिकहरुलाई होटलमा आउन आग्रह गर्छन् । उनी बाहिर भएको चर्चा अनुसार मेची क्राउनमा मँहगो नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो होटल अन्य स्टार होटलको तुलनामा सस्तो छ । यहाँ अरु तारे होटलमा जस्तो फर्मल नै भएर आउन पर्छ भन्ने छैन । यहाँ खाली खुट्टा पनि प्रवेश गर्न पाइन्छ ।’ उनले मेची क्राउन महंगो छ भन्ने कुरा भ्रम मात्र भएको दावी गरेका छन् ।

होटल मेची क्राउनमा कुनै पनि खाना ग्राहकसम्म पुग्नु अगाडि मुख्य सेफले त्यसको स्वाद परीक्षण गर्ने गरेका छन् । साथै खानालाई थप स्वादिष्ट बनाउने सम्बन्धमा हरेक दिन सबै सेफहरुसँग छलफल हुने गरेको सिंहले बताए ।