प्रकाशकीय : प्रकाशनको कठिन मोड


प्रकाश पौडेल
प्रकाशक/सम्पादक

मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौँ बसन्त पार गरी आठौँ वर्षमा प्रवेश गरेको हो ।

२०७३ साउन १० गते जिल्ला प्रशासन कार्यालय झापाबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको थियो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले शहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई विशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिरहेको छ । ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर जिल्लामा धेरै दैनिक र साप्ताहिक पत्रिकको भीडबाट सात वर्ष अघि प्रकाशन सुरु भएको यो पत्रिकाले ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर आवाजविहीनहरुको आवाज बन्दै आएको हाम्रो बुझाई छ ।

कोरोना भाइरसको संक्रमणबाट तहसनहस बनेका सञ्चारमाध्यम अझै तङ्ग्रिन सकेका छैनन् । अझ छापा सञ्चारमाध्यमको अवस्था नाजुक छ । यो बीचमा झापाबाट प्रकाशित हुने केही दैनिक तथा साप्ताहिक पत्रिका बन्द भएका छन् । समयक्रम अनुसार अधिकांश सञ्चारमाध्यमले छापा संस्करण बन्द गरि अनलाइन संस्करण मात्र सञ्चालन गरिरहेका छन् । खबरमञ्च साप्ताहिकले पनि लकडाउनकै समयममा खबरमञ्च अनलाइन डटकम सञ्चालन गरेको हो । हामी पनि अनलाइन माध्यमबाट जनतालाई समाचार प्रवाह निरन्तर गरिरहेका छौँ ।

अनलाइन पत्रकारितामा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न हाम्रो भूमिका कमी छैन । तर, हाम्रो चिन्ता छापा सञ्चारमाध्यमको रफ्तारमा लागेको ‘डिस् ब्रेक’ हो । कोरोना महामारीका कारण छापा सञ्चारमाध्यममा लागेको ‘डिस् ब्रेक’ का कारण झापा जिल्लासँगै राजधानीबाट समेत सञ्चालित नाम चलेका धेरै साप्ताहिक पत्रिका सदाको लागि बन्द भए । छापा सञ्चारमाध्यमको इतिहास बोकेका अधिकांश पत्रिका बन्द हुँदा पत्रकारिताले ठूलो क्षति व्यहोर्नु परेको छ ।

नेपालमा २०४६ सालको परिवर्तनसँगै फस्टाएको पत्रकारिता २०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी भइसक्दा समेत गुणस्तरीयतामा फड्को भने मार्न सकिरहेको छैन । अहिले झापामा सञ्चार माध्यम धेरै छन् । तर, गुणस्तरमा पछाडि छन् । कोठे पत्रकारिताका कारण पत्रकारको क्षमतामा झन् कमजोर बनिरहेको हाम्रो बुझाई छ । समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमूलक हुनुपर्छ । पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प छैन । नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी छ । खोज पत्रकारिताको विकाससँगै पत्रकारहरुको सुरक्षाको चुनौती पनि उत्तिकै छ । यी सबै कुरा चिर्न खबरमञ्च साप्ताहिक लागिपरेको छ ।

सञ्चारमाध्यमको विकास र बृद्धिसँगै पत्रकारको संख्या बढ्दै जाँदा ती पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनुपर्ने दायित्व स्वयम् आफुसँँग मात्र छ । यहाँ समाचार लेखेको आधारमा नभएर फेसबुकको स्टाटस्मा लाइक कमेन्टको आधारमा पत्रकारको श्रेणी मापन गरिन्छ । यसबाट आउने दिनहरूमा स्वतन्त्र रूपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई आफ्नो कामप्रति उत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने आशंका पनि हुन थालेको छ ।

हरेक चुनैतीको सामना गर्दै आम पाठकहरुलाई समाचारका माध्यमबाट हरेक विषयवस्तु प्रस्तुत गर्नु र सुसूचित गर्नु हाम्रो कर्तव्य हो । प्रकाशनको पहिलो बर्ष र कोरोना कहरदेखि अहिलेसम्मको हकमा पत्रिका सञ्चालनमा धेरै कठिनाइको सामना गर्नु परेको छ । साप्ताहिक पत्रिकाका प्रमुख आर्थिक स्रोत भनेको पत्रिकाको बिक्री र विज्ञापन हो । तर, साप्ताहिक पत्रिकाको सःशुल्क वितरण सहज छैन । प्रायः व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा मात्र साप्ताहिक पत्रिकामा विज्ञापन प्रकाशित हुने अवस्था छ । ठुला व्यापारिक समूह या औद्योगिक प्रतिष्ठानहरूसँग साप्ताहिक पत्रिकाको पहुँच पुग्न पनि सकिरहेको छैन । सीमित विज्ञापनका भरमा साप्ताहिक पत्रिकाहरु बडो कठिन आर्थिक अवस्थाबीच प्रकाशित भइरहेका छन् ।

अनेकौँ चुनौतीको सामना गर्दै आज हामी आठौँ वर्षमा प्रवेश गरेको छौँ । यद्यपि साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको खबरमञ्च आजसम्म आइपुग्दा सफल सञ्चार गृह (खबरमञ्च मिडिया हाउस) बन्न सफल भएको छ । हामीले साप्ताहिकको रुपमा खबरमञ्च साप्ताहिक, डिजिटल रुपमा खबरमञ्च अनलाइन डटकम र बार्षिक रुपमा खबरमञ्च रंगीन पत्रिका प्रकाशन गर्न सफल भएको ठान्दछौँ । खबरमञ्चलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तर सक्रिय भएर लाग्ने छौँ । पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन हामी प्रतिबद्ध छौँ । साथै, आगामी दिनमा यहाँहरुको थप सल्लाह र सुझावको अपेक्षा गरेका छौँ ।

अन्त्यमा, पत्रिकालाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापन दाताहरुले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

 

प्रकाशक/सम्पादक

प्रकाश पौडेल