मेची क्राउन : सयवटा कोठा थप्दै, नाफा १८ करोड ७१ लाख


काँकरभिट्टा । झापा मेचीनगरमा सञ्चालित पाँचतारे डिलक्स होटल  ‘मेची क्राउन’ले सय वटा कोठा थप्ने भएको छ। आगामी एक वर्षभित्र तयार हुने गरी सयवटा कोठा थप्न लागेको हो। डिलक्स पाँचतारे होटलको मान्यता पाइसकेको मेचीक्राउनमा सुरुमा डेढ अर्ब लगानीमा निर्माण गरिएको थियो। अब लगानी थपेर क्षमता विस्तार हुने भएको छ। अहिलेको क्षमता तथा बजारको माग हेरेर पूर्वाधार विस्तारको योजना लगानीकर्ताहरूले गरेका छन्।

होटलमा पर्यटन व्यवसायीहरू पवित्रकुमार कार्की, सुरेशमान श्रेष्ठ, राजकुमार बस्नेत, रामबहादुर गौतम र बलराम सापकोटाले डेढ अर्ब लगानी गरेका छन्। होटलका सञ्चालक बलराम सापकोटाका अनुसार ५० करोड बढी लगानीमा सयवटा कोठा थप्न हाल होटलको भवन निर्माणको काम भइरहेको छ। ‘विवाह र पार्टीको सिजनमा रूम अपुग हुने भएकाले सयवटा रूम थप्न लागेका हौं,’ सापकोटाले भने।

हाल होटलमा एक सय ५ वटा कोठा छन्। जसमा पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स छन्। यी सबै कोठामा गरेर एकपटकमा १६० जना बस्न सक्ने क्षमता छ। झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ साल वैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको छोटो समयमै होटलको आम्दानी बढेको छ। सञ्चालनमा आएको पहिलो वर्ष सन् २०२१ मा होटलले ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै, सन् २०२२ मा होटलको आम्दानी बढेर १८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। सन् २०२१ को तुलनामा होटलको आम्दानी ४ सय ८८ प्रतिशत बढेको छ।

होटल मेची क्राउन एक सय चार रोपनी क्षेत्रमा फैलिएको छ। ७० प्रतिशत जमिनमा हरियाली बगैंचा बनाइएको छ। होटलको मुख्य भवन चारतले छ। नौ वटा ब्लक छन्। फरक–फरक भवनमा पाँच वटा भिला, एउटा मुख्य होटल, कन्फरेन्स हल, स्पा, क्यासिनो लगायत छन्। प्याकेजअनुसार सुविधा दिइन्छ। मेची क्राउनका डिलक्स कोठामा बस्न दिनको दस हजार रूपैयाँ तिर्नुपर्छ। यसमा दुई जनासम्म बस्न सकिन्छ। भिला कोठाको दिनको १८ हजार रूपैयाँ पर्छ। त्यस्तै स्विटको ५० हजार रूपैयाँ तिर्नुपर्छ। यो शुल्कमा ब्रेकफस्ट समावेश हुन्छ।

खानपिनका लागि तीन वटा रेस्टुरेन्ट छन्। स्विमिङ पुल, जिमहल, स्पा, पार्लर सुविधा पनि छ। होटलमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड बनाइएको छ। तीन हजार मान्छे अट्ने क्षमताको ब्यांकेट र तीन वटा सेमिनार हल छन्। बिहे भोज तथा समारोह गर्न करिब दुई हजार मान्छे अटाउने सभाहल छ। यहाँ आउने सवारीका लागि पर्याप्त पार्किङ व्यवस्था रहेको छ।

‘अहिले हामीकहाँ भोजहरू भइरहेका छन्। पहिले/पहिले स्थानीयहरू राम्रो बिहे भोज गर्न भारततिर पुग्नुपर्ने स्थिति थियो। अहिले हामीले त्यो सुविधा दिएका छौं। बरू भारतीहरू नै पार्टी गर्न यहाँ आइरहेका छन्,’ सापकोटाले भने, ‘एकै पटक चार वटासम्म बिहे भोज गराउन मिल्ने हल हामीसँग छ।’ नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले बिहे, समारोह गर्न र स्वदेशी तथा विदेशी संस्थाका कार्यक्रमका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार तयार गरेको छ।