कृतिम हातखुट्टा पाएपछि दंग


बौद्धमोड  । मेचीनगर –२ स्थित बौद्धमोडमा बुधबार ९४ जना हात खुट्टा नभएकाहरुले कृतिम हात खुट्टा पाएका छन् । ब्रमाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाले भारतको नारायणी सेवा संस्थाको सहयोगमा ९४ जनालाई हात खुट्टा वितरण गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा गर्ने यस्तो महान कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै हर्षित बनेको बताइन् । उनी भन्छिन्, ‘यहाँको हर सुख दुखसगँ म जोडिएको छु, हात नहुँदाको पीडा, खुट्टा गुमाउनुपर्दाको छट्पटी म बुझ्न सक्छु र यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई ठुलो हर्ष महसुस भएको छ ।’, उनी भन्छिन्, ‘सबैभन्दा ठुलो आनन्द नै सेवामा छ ।’

कार्यक्रममा प्रमुख अतिथी रानामगरसगैँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल हरीहर सत्संघ धार्मिक विकास संस्थाका संयोजक मुकुन्द नेपाल, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, सहयोगी संस्था नेफ इण्डिया फाउण्डेशनकी सचिव इन्दीरा शर्मा, नारायणी सेवा संस्थानका प्रतिनिधी हरीप्रसाद लद्दा लगायतले मन्तव्य राखेका थिए ।

हात खुट्टा वितरण कार्यक्रमको अध्यक्षता ब्रमाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणाको उपस्थिति रहेको थियो । त्यसै गरी विशिष्ट अतिथिमा मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थिति रहेको थियो भने अतिथिहरुमा वडा २ का अध्यक्ष दिपक बराल, वडा ४ का अध्यक्ष अर्जुन कार्की, नारायणी सेवा संस्थाका हरी प्रसाद लड्डा, दमक अपाङ्ग संघका अध्यक्ष खगेन्द्र भट्टराई, रोजी हिरा फाउन्डेसनकी अध्यक्ष रोजिना प्रदान, रुद्र गौरी अम्बिका ओली फाउन्डेसनकाका अध्यक्ष गंगा ओली लगायतको उपस्थिति रहेको थियो ।

कृतिम अंग पाउदा दंग
उमेरले ६२ बर्ष पुगेका मेचीनगर १३ का हेमलाल सापकोटा बेग्लै रोमाञ्चाकता साथ उनी आशु बगाइरहेका थिए । उनको आशु दुःखको नभएर खुशीको थियो । कारण उनले २४ वर्ष अगाडि गुमाएको आफ्नो हात पाएका थिए । वि।सं। २०५६ सालमा मेचीनगरको एक मल कारखानामा काम गर्दा एक हात गुमाएका सापकोटाले कृत्रिम हात प्राप्त गरेका छन् । ५६ सालमा कारखनामा काम गर्दै गर्दा मेसीनमा परेर उनको हात गुमेको थियो ।

बुधबार ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा क्रृण सहकारी संस्था मेचीनगर २ ले आयोजना गरेको कृत्रिम हात खुट्टा वितरण कार्यक्रममा उनले नयाँ हात प्राप्त गरे । उनी भन्छन्, ‘साह्रै खुशी लागेको छ बाबु, हात नहुनु भनेको त जीवन नै नहुनु जस्तै रहेछ ।’ उनले भने, ‘जीवन भोगाइको क्रममा हात गुम्यो आज नयाँ हात पाँउदा एकदम खुशी छु ।’

यसैगरी मोरङको मधुमल्ला निवासी कमल मगर पनि अत्यन्तै खुशी देखिए । जीवन भोगाइको क्रममा रोजगारी खोज्दै विदेशिएका ६० बर्षीय मगर घर फर्कदा एक हात गुमाएर फर्किए । मलेसियाको एक कम्पनीमा काम गर्ने क्रममा उनको एउटा हात मेसीनले लग्यो । उनी भन्छन्, ‘हात गुमेको १० बर्ष भयो । मलेसीयामा काम गर्दा मेसीनमा परेर हात गुमेको हो ।’, उनी भन्छन्, ‘१० बर्षपछी आज यसरी कृत्रिम हात प्राप्त गर्दा अत्यन्तै खुशी छु ।’

उनी जस्तै हात तथा खुट्टा गुमाएका ९४ जनालाई मेचीनगर २ मा अवस्थित ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा क्रृण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गर्दै कृत्रिम हात तथा खुट्टा वितरण गरेको हो । छिमेकी मुलुक भारतमा रहेर सामाजीक क्षेत्रमा अत्यन्तै सक्रिय रहेको नारायणी सेवा संस्थानको विशेष सहयोगमा यस सहकारीले अपाङ्गता भएका ९४ जनालाई १ सय ८ थान कृत्रिम हात तथा खुट्टा वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा कृत्रिम हात तथा खुट्टासगैँ ह्विलचियर, कान नसुन्नेका लागि इयरफोन लगायतका सामग्री वितरण गरिएको थियो । कार्यक्रममा कृत्रिम हात खुट्टा प्राप्त गर्नका निम्त्ति विभिन्न जिल्लाबाट अपाङ्गता भएका व्यक्तिहरु आएका थिए ।