वाणिज्य संघ साना व्यापारीको पक्षमा ‘चुइक्क बोल्दैन’


मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघले साना व्यवसायीलाई समेट्न नसकेको गुनासो चुलिएको छ ।
संघको चुनावी साधारण गत माघ ६ गते सम्पन्न भएको थियो । संघको यही माघ २१ गते नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । यो बेला व्यवसायीका पार्टीका नेताहरु उम्मेदवार बन्ने कसरतमा छन् । तर, वाणिज्य संघको नेतृत्व ठूला व्यापारीको हातमा पुगेको भन्दै साना व्यवसायीले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।
मेचीनगरका साना व्यवसायीहरुले साधारण सभामा आफूहरुलाई खबरसमेत नगरेको गुनासो गरेका छन् । उनीहरुले भनेका छन्, ‘मेची उद्योग वाणिज्य संघ ठूला र धनी व्यापारीको मुठ्ठीमा चलेको छ । साना व्यापारीको पक्षमा कहिले बोल्न सकेको छैन ।’
व्यवसायी गणेश खरेलले व्यवसायीहरु मारमा पर्दासम्म चुइक्क बोल्न नसकेको बताए । उनले कोरोनाकालमा व्यापारीलाई सहुलियत र प्रोत्साहन गर्नुको साटो वाणिज्य संघले उल्टै व्यापार गरेको बताए । ‘व्यवसायको क्षेत्रमा अहिले पनि थुप्रै समस्याहरुले विकराल रुपमा लिएको छ,’ उनले भने, ‘तर वाणिज्य संघ व्यापारीको पक्षमा बोल्दैन । आर्थिक मन्दीले व्यापार चौपटट् भई ऋणमाथि ऋण थपिदासमेत कुनै नीति नियम बनाएर सरकारलाई भन्न सक्दैन ।’
मेचीनगरमा दुईवटा व्यापारीको समानान्तर समिति जस्तै बनेका छन् । मेची उद्योग वाणिज्य संघ र मेची चेम्बर अफ कमर्स । ती दुवै अलग संस्थाले व्यापारीको हितमा काम गरिरहेको दाबी गर्छन् । दुवै संस्थाको समान अधिकार छ । यद्यपि स्थानीय सरकारले मेची चेम्बरलाई वास्ता नगरेको चेम्बका एक सदस्य बताउँछन् ।
मेची उद्योग वाणिज्य संघमा करिब १७ सय व्यावसायी आबद्ध छन् । तर, संघको साधारण सभमा व्यवसायीहरुको नगन्य उपस्थिति रहेको थियो । साना भन्दा व्यवसायीका ठूला नेताहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियो । साना व्यवसायीलाई संघले वास्ता नगर्दा ती व्यवसायीले संघको सदस्यता त्यागेर अन्यन्त्रै जाने सम्भावना देखिएको छ ।
……………………..