महेन्द्रद्वार सहकारी : जडिबुटी खेती प्रोत्साहनका लागि अवलोकन भ्रमण


मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लि.ले दुईदिने जडिबुटी खेती विस्तार सम्बन्धि अवलोकनका लागि कृषकहरूलाई भ्रमण लगेको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो ।

जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन गर्न आफ्नो किसानहरूलाई जडिबुटी खेती तर्फ प्रोत्साहन गर्दै आएको छ । अन्य बालीको तुलनामा जडिबुटी खेतीबाट मनग्ये आम्दानी हुने भएपछि संस्थाले आफ्ना किसानहरूलाई जडिबुटी खेतीतर्फ प्रोत्साहन गरिएको महेन्द्रद्वार सहकारी संस्था लि का अध्यक्ष राजु दाहालले बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्तीको आतंकले अन्य बाली तहसनहस बनाउने गरेकोले सदस्य किसानलाई जडिबुटी खेतीतर्फ सहकारीले सदस्य किसानहरूलाई प्रोत्साहित गरिरहेको अध्यक्ष दाहालको भनाइ छ । अन्य बालीको तुलनामा जडिबुटी खेतीबाट राम्रो प्रतिफल लिन सक्ने उनले बताए ।

सहकारीले हालै ३० बिगाहा क्षेत्रफलमा लेवनग्रास र सिटोनेला प्रजातिका जडिबुटी खेती सुरू गरेको छ भने, आगामी दुई बर्ष भित्रमा एक सय बिगाहा बढी क्षेत्रफलमा जडिबुटी खेती गर्ने योजना रहेको संस्थाकी व्यवस्थापक सावित्रा अधिकारीले बताइन् ।

अनुगमन टोलिले मोरङको बेलबारी स्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, बराह नगरपालिका-६ स्थित सप्तकोसी कृषि सहकारी संस्थाले ४ बिगाहा क्षेत्रफलमा लगाएको लेवनग्रास प्रजातिको जडिबुटी खेतीको अवलोकन गर्यो । जडिबुटी खेतीको अवलोकन पछि सहकारीले अन्तक्रिर्या कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा सहभागीहरूले जडिबुटी खेतीको उत्पादन तथा बजारीकरणको बारेमा जिज्ञासा राखेका थिए ।