झापा-१ : एमालेमा प्रवेश लहर, शर्माकै वडामा कांग्रेसले पार्टी छाडे


धुलाबारी । झापा–१ मा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको छ ।

बुधवार ज्यामिरगढीमा माओबादीका पूर्व जनमुक्ति सेनाका लडाकुसहित दर्जनौं माआबादी कार्यकर्ता एमालेमा प्रवेश गरे लगत्तै आज मागुरमाडीका कांग्रेस र माओबादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री अग्नि खरेलले मेचीनगर–९ को माथ्लो मागुरमाडीमा आज विहान आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका सबैलाई अबिर र खादा लगाएर स्वागत गरे ।

नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माकै गृहवडाका कांग्रेस र माओबादी कार्यकर्ताले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको आजको घटनालाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

सो कार्यक्रममा गोपाल भट्टराई ९सीताराम०, मानबहादुर तामाङ, गीता गुरुङ, बेद सुब्बा, दिपेश धमला र कल्पना खवास नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।

त्यसैगरी, कल्पना मगर, ललित मगर लगायतका माओबादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

सुकुम्बासी, श्रमिक र किसानका समस्याको समाधान नेकपा एमालले विगतदेखि गर्दै आएको धारणा राख्दै नवप्रवेशी गोपाल भट्टराईले कांग्रेसले गफ मात्र गर्ने काम केही पनि नगर्ने बताएका थिए ।

उनले झापा–१ का सम्पूर्ण सुकुम्बासी, श्रमिक र किसानले सूर्य चिह्नमा मतदान गरेर नेकपा एमालेका प्रभावशाली एवम् विकासप्रेमी उम्मेद्वार अग्नि खरेललाई शानदार रुपमा बिजयी बनाउने उद्घोष गरे ।

कार्यक्रमको अध्यक्षता सोही टोलका एमाले अध्यक्ष ठाकुर अधिकारीले गरेका थिए भने सो अवसरमा स्थानीय बासिन्दाले आफ्नो गाउँ र समुदाय विकासमा ज्यादै पछाडि परेको गुनासो पनि सुनाएका थिए ।

जनताको समस्या समाधान गर्ने र विकासको लहर गाउँमा ल्याउने परम कत्र्तव्य आफ्नो भएको बताउँदै झापा–१ का प्रतिनिधिसभा सदस्यको एमाले उम्मेद्वार अग्नि खरेलले सुकुम्बासी समस्याको समाधान एमालेको सरकारले मात्र गर्न सक्ने चर्चा गरेका थिए ।