अब चकलेटी कुराका भरमा जनताले भोट हाल्दैनन् : अग्नि खरेल


झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले अब चकलेटी कुराका भरमा जनताले भोट नहाल्ने बताएका छन् । अब जनताले देशमा विकास र समृद्धि चाहेको बताउँदै पुर्व सञ्चार मन्त्री तथा महान्यायाधिवक्ता खरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बनावटी र मिठा कुरामा जनता नअल्मलीने बताए ।
मंगलबार प्रेस चौतारी नेपालसंग आबद्ध झापाका पत्रकारहरूको अन्तरक्रियामा बोल्दै उनले नाका बन्दीमा देश र जनताले समस्या झेल्नुपरेको बेला दुलो पस्ने पार्टीहरू अहिले आदर्श र खोक्रो राष्ट्रवादको नारा लिएर जनता झुक्याउन लागि परेको बताए ।

झापा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका उनले आफू विकास प्रेमी रहेको बताउँदै यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए । एमालेको बलियो उपस्थित रहेको झापा क्षेत्र नं १ मा आफ्नो टिमको विजयी सुनिश्चित रहेको बताए ।

उनको प्रतिष्पर्धीको रुपमा क्षेत्र नं १ बाट दुई पटक पराजित भइसकेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् ।

खरेलको टिममा प्रदेश (क) बाट रविन कोईराला र (ख) बाट राप्रपाकी सबिना बजगाई उम्मेदवार रहेका छन् ।