गृहलक्ष्मीको १४औं साधरण सभा सम्पन्न


धुलाबारी । बिहीबार गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं साधरण सभा सम्पन्न गरेको छ । धुलाबारी बजार सिरान स्थित संस्थाले आफ्नै कार्यालयमा साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्याक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी विशिष्ट अतिथीको रुपमा बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीहरुको रुपमा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले विसं २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ करोड ३१ लाख १९ हजार ९ सय रुपैयाँ शेयरपुँजी बनाएको छ । उक्त सहकारीले आर्थिक वर्ष ०७९–८० मा शेयरपुँजी २ करोड ९९ लाख रुपैयाँ हुने अनुमान गरेको छ ।

साधारण सभामा सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा आव ०७८–०७९ मा जगेडा कोषमा ८४ लाख ९४ हजार २४२ रुपैयाँ रहेको उल्लेख छ । यस्तै, १३ करोड ६९ लाख २५ हजार ५५६ रुपैयाँ बचत हिसाब रहेको छ । संस्थाको शेयर सदस्य संख्या ३ हजार ३९७ कायम गरिएको प्रतिवेदनमा छ ।

सहकारी संस्थाका सदस्य राजु धिमालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा डाँगी (रेणुका) ले स्वागत मन्तव्य राखेकी थिइन् । साधारण सभाको बन्दशत्रले आगामी योजना तथा कार्यक्रमहरु पारित गरेको व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।