विद्यालयमा मेयरकाे छड्के : कार्यालयको समयमा अन्यत्र गए शिक्षकहरूलाई कारवाही गरिने


मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरू गरेको छ ।

मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले सञ्चालन गरेको श्रीकृष्ण प्राथमिक विद्यालयसहित दुईवटा विद्यालयको छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा शिक्षकहरूले हाजिर गरेर आफ्नो निजी काममा जाने गरेको, लामो समयसम्म बिदा बसे पनि कुन बिदा बसेको हो त्यसको स्पष्ट नखुलाएको तथा पोशाक नलगाउने गरेको टोलीले अनुगमनका क्रममा फेला पारेको बताईएको छ ।

मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्रीकृष्ण प्राथमिक विद्यालयमा बाल विकाशसहित कुल ५२ जना विद्यार्थी भए पनि ४२ जना मात्र उपस्थित रहेका, शिक्षक होमनारायण धिमाल हाजिर गरेर अन्यत्र गएको अनुगमन टोलीले जनाएको छ ।

उनीशरूसँग नगरको शिक्षा शाखाले स्पष्टीकरण सोध्ने नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले बताए।

नगरप्रमुख बुढाथोकीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जोड दिनुहुदैँ र विद्यालयको स्तरवृद्धि गर्दै विद्यार्थीलाई सरकारी विद्यालयतर्फ आकर्षण गर्ने खालका क्रियाकलाप गर्न सम्बन्धित विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन दिए ।

सरकारी विद्यालयमा दैनिकजसो विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बुढाथोकीले त्यसको कारण पहिल्याएर समाधान खोज्नुपर्नेमा जोड दिए।

स्थानीय सरकार भएका कारण मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न कुनै कन्जुस्याइँ नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि योजना बनाएर नगरपालिकामा आउन विद्यालयलाई सुझाव दिए ।

शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दैँ कार्यालयको समयमा अन्यत्र गए त्यस्ता शिक्षकहरूलाई कारवाही गर्ने शिक्षा शाखाको भनाई छ ।

टोलीले सरस्वती प्राथमिक विद्यालयको समेत अनुगमन गरेको थियो । नगरप्रमुख उपप्रमुखले शिक्षक र विद्यार्थीसँग विविध विषयमा जानकारी लिएका थिए ।