‘नेपाली राजनीतिलाई डोर्‍याउन ‘जनताको बहुदलीय जनवाद’ भन्दा अर्को दर्शन छैन’


झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी खरेलले नेपाली राजनीतिलाई डोर्याउन जनताको बहुदलीय जनवाद भन्दा अर्को दर्शन नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारि प्रेस चौतारीले दमकमा गरेको जनताको बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक गोष्ठिमा उनले जवजकै जगमा नेपाली समाजको प्रगतीशिल परिवर्तन र विकास सम्भव रहेको बताएकताका छन् ।

उनले जननेता भण्डारीको दूरदर्शीताकै कारण नेपालमा कम्युनिष्ट राजनीति स्थापित भएको बताए । साथै उनले विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भई रहेका बेला प्रतिपादित जवजकै कारण नेपालमा कम्युनिष्ट टिकेको र कम्युनिष्टहरुकै कारण समाजवादको जग तयार भएको उल्लेख गरे ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु रोमनाथ ओली तथा गीता अधिकारीले जवज र यसका विशेषता बारे नयाँ पुस्तामा अझै जानकारी पुर्याउन जरुरी रहेको बताए । यस्तै मदन भण्डारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा।डा। गोपाल भण्डारीले वैचारीक स्पष्टता र सैद्धान्तिक दृढताकै कारण मदन भण्डारी नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा स्थापित भएको बताए ।

कार्यक्रममा जननेता भण्डारीका सहपाठी एवम् गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नेता भण्डारीमा सानैदेखि नेतृत्व क्षमता र तिक्ष्णता रहेको स्मरण गरे । प्रेस चौतारी नेपालका संस्थापक उपाध्यक्ष यज्ञ शर्माले जवजले अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै जवजको विकासक्रम, नेता भण्डारीको व्यक्तित्व लगायतका विषयमा प्रकास पारेका थिए ।

चौतारी प्रदेश तथा जिल्ला कमिटीले संयुक्त आयोजना गरेको कार्यक्रम चौतारी प्रदेश १ कमिटीका अध्यक्ष अविजाल विष्टको अध्यक्षतामा आयोजना भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक एवम् चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदालले गरेका थिए ।