‘लागूऔषधको निराकरण घरैबाट सुरु गर्नुपर्छ’


मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् ।
आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा फसेकाहरुलाई सुधार्ने निकाय भनेको नै पहिलो घर भएको बताए ।

‘समाधानको उपायका बारेमा बहस गर्न जरुरी छ’, नगर प्रमुख बुढाथोकीले भने–‘अभिभावकले छोराछोरीको निगरानी गर्नुपर्छ । के खायो, के गर्दैछ, स्कुल गयो गएन लगायत कुरामा ध्यान दिन आवश्यक छ ।’ अहिले सञ्चालन भएका सुधार केन्द्र भन्दा अलिक उच्चस्तरीय केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउँदै बुढाथोकीले समुदाय, प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले लागुऔषधको दुव्र्यसन रोक्ने मात्र होइन यसलाई निमिटेन्न पार्न जरुरी रहेको बताइन् । ‘मेचीनगर दुव्र्यसनीको हव बन्दै गएको छ’ उपप्रमुख उप्रेतीले–‘पूर्वाधार विकासमा मात्र होइन मानव संशाधनमा समेत जोड दिनुपर्छ ।’

लागुऔषध दुव्र्यसनीका विषयमा मेचीनगर नगरपालिकाले हालै घोषणा गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । जस्मा लागुपदार्थ दुव्र्यसन न्युनिकरणका लागि घरपरिवार, समुदाय ९टोलविकास०, नगर सरकारवीच समन्वय हुनेगरी वडास्तरीय र नगरस्तरीय सञ्जाल निर्माण गरिनेछ । यस सञ्जालाई नेपाल प्रहरीको लागु पदार्थ दुव्र्यसन नियन्त्रणको स्थानीय इकाईसँग जोडिनेछ । दुव्र्यसनीको पुनः स्थापना केन्द्र स्थापना गरी सीप र प्रविधि हस्तान्तरण गर्न अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा योजना बनाई कार्य प्रारम्भ गरिनेछ ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतो, सशस्त्र प्रहरी बल काँकरभिट्टा विओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, मेची समुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल लगायतले लागुऔषध नियन्त्रण र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।

चेतामुलक नारा लेखिएका प्लेकार्ड, व्यानरसहित काँकरभिट्टा बजारको परिक्रमा पश्चात मेची सामुदायिक भवनमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो । र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

केन्द्रका अध्यक्ष बुद्घिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले र सञ्चालन सीमा प्रहरी चौकी नकलबन्दाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक मानबहादुर मिश्रले गरेका थिए ।