बागीका समर्थकहरु एमालेमै फर्किएपछि गठबन्धनमा खैलाबैला


मेचीनगर । नेकपा एमालेले बागी र उनका समर्थक प्रस्तावकलाई निष्कासनको कार्वाही गरेपछि यसअघि भ्रमवश बागीको पछाडि लागेकाहरु एमालेको चुनावी अभियानमा फर्किएका छन् ।
मेचीनगरमा उपप्रमुख, वडा नं. २ र वडा नं. ७ को अध्यक्ष पदमा एमालेका बागी उम्मेद्वार थिए ।
पार्टीले सुरुमा उनीहरुलाई सम्झाएर पार्टीमा क्रियाशील गराउने प्रयास गरेको थियो । तर, पार्टीको निर्देशनलाई अटेर गरेपछि एमालेले उपप्रमुख पदमा उम्मेद्वारी दिएका डिल्लीराम घिमिरे, वडा नं. २ को वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका तिलक न्यौपाने र वडा नं. ७ को अध्यक्ष पदमा उम्मेद्वारी दिएका नेत्र दाहाललाई पार्टीको सदस्यता समेत नरहने गरी निष्कासनको कार्वाही गरेको छ ।
बागीको पछि भ्रमवश लागेकाहरु पार्टीले कार्वाही गरेपछि धमाधम नेकपा एमालेमै फर्किएर पार्टीको आधिकारिक उम्मेद्वारलाई जिताउने अभियानमा लागिसकेको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले बताए ।
सुरुमा उम्मेद्वार चयन गर्दाको असन्तुष्टिलाई लिएर केही कार्यकर्ताहरु बागीको ललाइफकाइमा लागे पनि बागीको उद्देश्य पार्टीको भोट काटेर विपक्षी जिताउने प्रष्ट भएपछि धमाधम एमालेमै फर्किएको उनले बताए ।
बागीलाई त्यागेर एमालेमै फर्किसकेकाहरुले एमाले पार्टी र सूर्य चिह्नलाई माया मार्न कदापि नसकिने बताउँदै आफुहरु केही दिन बागीको भ्रममा परेकोमा पछुतो रहेको स्पष्ट पारेका छन् ।
बागीको भ्रमबाट मुक्त भएर एमालेमै फर्किएकाहरुले उपप्रमुख पदमा एमालेको आधिकारिक उम्मेद्वार मीना उप्रेतीलाई जिताउ अभियानमा लागिसकेको पाइएको छ ।
‘हामीलाई सघाउनुहोस्, जितेपछि एमालेमै फर्किहाल्छु भनेर बागीहरु असन्तुष्ट कार्यकर्ताहरुको घरघरै पुगेका थिए,’ बागीलाई छाडेर एमालेमै फर्किएकाहरु भन्छन्–‘वास्तविकता त्यस्तो होइन रहेछ, पार्टीले बागीलाई कार्वाही गरेर पाँच वर्षसम्म पार्टीमा प्रवेश नदिने भनिसकेपछि हामीले पनि कुरा बुझ्यौं ।’
बागीहरुले जित्ने सम्भावना अलिकति पनि नभएको र एमालेको भोट काटेर विपक्षी गठबन्धनलाई जिताउने भित्री साँठगाँठ रहेको रहस्य खुलासा भएपछि यसअघि बागीको लहैलहैमा कुदेका अधिकांश एमाले कार्यकर्ताहरु अहिले पार्टीको आधिकारिक उम्मेद्वार जिताउन प्रचार अभियानमा जुटिसकेको उनीहरु बताउँछन् ।

वडा नं. ७ ः बागीलाई छाडे समर्थक र प्रस्तावकले
वडा नं. ७ मा एमालेको बागी बनेर वडाध्यक्ष पदमा उम्मेद्वार बनेका नेत्र दाहाललाई समर्थक र प्रस्तावकहरुले नै छाडेर एक्लो बनाएका छन् ।
दाहालले उम्मेद्वारी दर्ता गराउँदा एमालेका अगुवा कार्यकर्ताहरु नै प्रस्तावक र समर्थक बसेका थिए । अहिले प्रस्तावक र समर्थक दुबैले बागीलाई छाडिसकेका छन् ।
नेकपा एमालेले पनि बागी उम्मेद्वारलाई पार्टीको सदस्यता नरहनेगरी निष्कासन गरिसकेको छ ।
यस वडामा लोकप्रिय युवा प्रह्लादमणि ओली वडाध्यक्ष पदमा नेकपा एमालेको आधिकारिक उम्मेद्वार रहेका छन् ।
उम्मेद्वार ओलीले आफ्नो जित सुनिश्चित भइसकेको र बागीका पक्षमा सुरुका दिनहरुमा भ्रमवश लागेका कमरेडहरु सबै एमालेमै फकिएर चुनावी प्रचारमा जुटिरहेको जानकारी दिए ।

वडा नं. २ ः एमालेको पक्षमा जनलहर
वडाध्यक्ष पदमा बागी उठेका कारण चर्चामा रहेको मेचीनगर वडा नं. २ मा एमालेको आधिकारिक उम्मेद्वार दिपक बरालको पक्षमा जनलहर उर्लिएपछि विपक्षी खेमामा खैलाबैला मच्चिएको छ ।
स्थानीय विकास निर्माण र युवाको नेतृत्व विकासको कार्यमा सधै अगाडि बढ्दै आएका वडाध्यक्ष पदका एमाले उम्मेद्वार बराल बाहुनडाँगी जेसिजका पूर्व अध्यक्ष समेत हुन् ।
बाहुनडाँगीमा खानेपानी, सडक, विद्युत लगायतका भौतिक पूर्वाधार ल्याउन योगदान पुर्याएको र भ्रष्टाचार र बेथितिविरुद्ध सामाजिक अभियानको अगुवाई गरेका कारण बरालको समर्थनमा लहर उर्लिएको नेकपा एमाले झापाका जिल्ला सचिवालय सदस्य टिका मग्रातीले बताए ।
उनका अनुसार वडा नं. २ मा हाल बागी उम्मेद्वार एक्लिइसकेको र यसअघि बागीका पक्षमा खुलेका कार्यकर्ता एमालेको काममा फर्किसकेका छन् । एमालेमा एकता कायम भएका कारण विपक्षी गठबन्धन अत्तालिन थालेको छ ।
विपक्षी गठबन्धनले एमालेका बागीलाई हौस्याउने गरेको र बागीहरुले पनि जितेपछि एमालेमै फर्किएर काम गर्ने भ्रम छरिरहेको पाइएको थियो । एमालेले बागी र उनका समर्थकहरुलाई कुनै पनि हालतमा पाँच वर्षसम्म पार्टीमा प्रवेश नदिने घोषणाका साथ सदस्यता समेत नरहने गरी निष्कासनको कार्वाही गरिसकेको छ ।
यस वडामा नेकपा एमालेबाट अध्यक्ष पदमा दिपक बराल, सदस्य पदमा बेनुप राई र डाकमान राई, महिला सदस्य डम्बरी बेडारी र दलित सदस्य सीता मोते तिम्सिना उम्मेद्वार रहेका छन् ।
सो वडामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा कोही पनि उम्मेद्वार छैनन् ।
गठबन्धनबाट माओबादी केन्द्रका गोपी रिजाल, राप्रपाबाट दिवाकर काफ्ले, मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णहाङ लिम्बु र स्वतन्त्रबाट (पूर्व कांग्रेस) तिलक कार्की वडाध्यक्षको प्रतिपर्धामा रहेका छन् ।