मेचीनगर गठबन्धन : नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प


मेचीनगर गठबन्धनको साझा प्रतिबद्धता सार्वजनिक

धुलाबारी । बैशाख ३० गतेको निर्वाचनका लागि मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । धुलाबारी चोकमा शनिबार आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

मेचीनगरमा गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखमा माओवादी केन्द्रका प्रकाश भण्डारी नेतृत्वको साझा उम्मेद्वार चुनावी मैदानमा छन् । गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेद्वार संयुक्त चुनावी मैदानमा छन् ।

जारी गरिएको घोषणा पत्रमा निर्वाचनमा विजयी भएमा नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प गरिएको छ । घोषणा पत्रमा नगरको समृद्धिमा गर्ने र नगर्ने कामलाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।

जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु टावर, स्वागत द्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत र साधनको दोहन नगर्ने, कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभनमा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने उल्लेख छ ।

यस्तै, निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गएर अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लंघन नगर्ने, महिलामाथि हुने हिंसा, जातीय विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत कुनै पनि अवस्थामा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरिएको गरिएको छ ।

१८ पृष्ठको साझा प्रतिबद्धता पत्रमा सुशासनदेखि कर प्रमाणीसम्मलाई समेटेर काम गर्ने अठोट गरिएको छ । मेचीनगरलाई समृद्ध नगर बनाउन सुशासनतर्फ नगरपालिकालाई सुशासन प्रदान गर्न भ्रष्टाचार र अनियमिततालाई शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ । यस्तै, नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाउँदै जनताको कामलाई सहज ढंगले सम्पादन गर्न सेवाको प्रकृति हेरी समयावधि तोकी सेवा प्रवाह गरिनेलगायका योजना समेटिएका छन् ।

साझा गठबन्धनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शिक्षालाई उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा कम्तीमा १५ प्रतिशत बजेटको व्यवस्था गरिने, जनयुद्ध, जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारका सदस्यलाई उच्च शिक्षासम्मको पठनपाठनमा आर्थिक सहयोग उपलब्ध गराउने, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क क्रमिक रूपमा निःशुल्क गर्दै लैजाने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, नगर भित्रका प्रत्येक परिवारका बुहारीलाई उच्च शिक्षा अध्ययनमा प्रेरित गर्नका निमित्त ‘बुहारी शिक्षा कार्यक्रम’ लागू गरिने र जसमा मेचीनगर क्षेत्र भित्रका सामुदायिक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विवाहित महिलाको क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्कको प्रबन्ध नगरपालिकाबाट गरिनेलगायका बुँदा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक औषधि एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी सेवा प्रवाह गर्ने, नगरवासीका लागि स्वास्थ्य जीवन शैली नीति अबलम्वन गर्दै सन्तुलित आहार र शारीरिक व्यायाम प्रवद्र्धनका लागि स्वास्थ्य शिक्षा, सञ्चार तथा सूचनामा विशेष जोड दिइने उल्लेख छ ।

यस्तै, मेचीनगर क्षेत्रभित्र रहेको आम्दा अस्पताललाई सबैको भरोसायुक्त एवम् प्रविधियुक्त अस्पतालको रूपमा विकास गर्ने, नगरका प्रमुख स्थानहरूमा वैज्ञानिक र व्यवस्थित बधशालाको स्थापना गर्ने, कम्तीमा वर्षमा एकपटक प्रत्येक वडामा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने वाचा स्वास्थ्य क्षेत्रमा गरिएको छ । यस्तै, ‘महिलासँग उपप्रमुख कार्यक्रम’ मार्फत् विपन्न परिवारका महिलालाई सुत्केरी हँुदा सुत्केरी पोषण सामग्री उपलब्ध गराउने कार्यक्रम लागु गरिने जनाइएको छ ।

पर्यटनतर्फ ‘पूर्वको राम्रो सहर, घुम्न जाऊँ मेचीनगर’ भन्ने मूल नाराका साथ मेचीनगरप्रति आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण पैदा गर्न व्यापक प्रचारप्रसार गरिने साझा प्रतिबद्धता पत्रमा समेटिएको छ ।

उद्योग तथा व्यवसायतर्फ मेचीनगर क्षेत्रमा रहेका औद्योगिक क्षेत्रहरूलाई ‘औद्योगिक करिडोर’का रूपमा विकास गरी उक्त क्षेत्रका बासिन्दालाई विशेष सेवासुविधा र रोजगारीको प्रबन्ध मिलाउनेलगायत बुँदा समेटिएका छन् ।

नगरका हरेक गतिविधिहरूलाई प्रत्येक नागरिकहरूसम्म पु¥याउन छुट्टै व्यवस्थित सूचना तथा सञ्चार शाखाको व्यवस्था गर्ने, हरेक नगर सभाहरूलाई विभिन्न सञ्चारका माध्यमहरूमार्फत् प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइने, नगरका हरेक गतिविधिबाट नागरिकको सूसुचित हुने अधिकारलाई मध्यनजर गरी ‘मेरो मेचीनगर’ नामक रेडियो कार्यक्रम उत्पादन र प्रसारणका लागि नगर भित्रका एफएम रेडियोहरूलाई प्रोत्साहन गरिनेलगायतका बुँदा सूचना तथा सञ्चारतर्फ उल्लेख गरिएका छन् ।

भौतिक पूर्वाधारतर्फ मेचीनगरको प्रस्तावित रिङरोडलाई पूर्णता दिइने, नगरका अन्तर वडा जोड्ने, अन्तर पालिका जोड्ने र प्रमुख लोकमार्गहरूसँग जोडिएका सडकलाई पूर्णरूपमा कालोपत्रे गर्ने, एकीकृत जग्गा विकास कार्यक्रममार्फत् सुविधा सम्पन्न सहरी क्षेत्रका रूपमा विकास गर्न ‘आधुनिक र सुन्दर मेचीनगरः जता हे¥यो त्यतै सहर’ कार्यक्रम सञ्चालन गरिने वाचा गरिएको छ ।

ग्रामीण तथा सहरी विकासतर्फ मेचीनगर क्षेत्रलाई ग्रामीण, सहरोन्मुख र सहरी गरी ३ भागमा वर्गीकरण गरी सोहीअनुसार पूर्वाधार विकासमा प्राथमिकता दिइने लगायतका महत्वपूर्ण योजनाहरु अघि सारिएको छ ।

महिला तथा बालबालिकामा महिला सशक्तीकरणका निम्ति स्वरोजगार कार्यक्रमहरू सञ्चालन गर्ने, ‘एक टोल विकास एक उद्यमशीलता’ कार्यक्रममा महिलालाई पनि आबद्ध गराउने, महिलाको शैक्षिक एवम् प्राविधिक क्षेत्रमा रहेको उपस्थितिको तथ्यांक तयार गरी अद्यावधिक गरिने उल्लेख गरिएको छ ।

यस्तै, समावेशीकरणतर्फ लोपोन्मुख किसान जातिको बसोबासको मूलथलो मेचीनगर–९ किसान गाउँमा किसान साँस्कृतिक संग्रहालय निर्माण गरी पर्यटनसँग आबद्ध गराइने, पालिकाद्वारा सम्पन्न हुने सबै कार्यक्रममा समावेशीकरणलाई आत्मसात गर्दै महिला, विभिन्न जनजाति, लोपोन्मुख, आदिवासी आदिलाई समावेश गराइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

साझ गठबन्धनले मेचीनगर भित्रका वन उपभोक्ता समितिहरूको सहकार्यमा प्रत्येक वनभित्रका जैविक विविधताहरूको संरक्षणको विषयमा योजना निर्माण गरी कार्य गर्ने जनाएको छ । यस्तै, मेचीनगर भित्र रहेका सिमसार तथा नदी क्षेत्रको संरक्षण र संबद्र्धन गर्ने, सिमसार क्षेत्र निर्माण र विस्तार गरी त्यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने जनाइएको छ ।

विपद् व्यवस्थापनतर्फ नगरभित्र आइपर्न सक्ने सबै प्रकारका विपद्हरूको विस्तृत अध्ययन गरी विपद् व्यवस्थापनको योजना तयार गरिने हटलाइन नम्बरको व्यवस्था गरिने र तत्काल उद्धारको लागि ‘¥यापिड रेस्पोन्स टिम’ को व्यवस्था गरिनेलगायतका योजनाहरु समेटिएका छन् ।

साझा गठबन्धनले ‘एक घरः एक धारो’ भन्ने नारा लिएर प्रत्येक घरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने, सबै उपभोक्ताले तिर्र्न सक्ने गरी खानेपानीको न्यूनतम् शुल्क निर्धारण गर्ने, बढी खपत गर्नेबाट प्रोग्रेसिभ कर लिइने नीति लिएको छ ।

उर्जातर्फ बायो ग्याँस प्लान्ट स्थापनामा नेपाल सरकारले उपलब्ध गराउने सहुलियतमा नगरपालिकाको तर्फबाट थप बिशेष सहयोग उपलब्ध गराउने, घरमा सोलर प्लेट राख्न चाहने उपभोक्तालाई ४० प्रतिशत अनुदान उपलब्ध गराउने जनाइएको छ ।

कृषि तथा सिँचाइतर्फ मेचीनगरलाई कृषि क्षेत्रमा वैज्ञानिक रूपले आधुनिकीकरण गरी आत्मनिर्भर हुनका साथै कृषि उत्पादनलाई निर्यातमूलक बनाई यसलाई आयमूलक पेसाको रूपमा स्थापित गर्ने, सुलभ व्याजदरमा कृषि ऋणको व्यवस्था गर्ने उल्लेख छ ।

शान्ति सुरक्षा र मानव अधिकारतर्फ भयमुक्त समाज निर्माणका लागि हरेक नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन जातीय, सांस्कृतिक, धार्मिक भेदभावको अन्त्य गरी समान र स्वतन्त्र व्यवहार गर्ने, हरेक वडामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन वडा प्रहरी चौकीको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

सहकारीतर्फ रासायनिक मल तथा उन्नत बिउ बिजन सहुलियत दरमा विक्री वितरण गर्नका लागि प्रत्येक वडामा एक–एक वटा कृषि सहकारी संस्थालाई जिम्मेवारी दिइने, नगरमा एउटा सहकारी प्रशिक्षण केन्द्र स्थापना गरिने प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

भाषा, कला तथा साहित्यतर्फ मेचीनगरमा बोलिने विभिन्न जातजातिका मातृभाषाहरूका विशेषज्ञहरूको खोजी गरी भाषा र लिपी विकासको योजना निर्माण गरिने, स्थानीय जातजातिको सबैभन्दा बढी जनसंख्याले बोल्ने भाषाको पाठ्यसामग्री तयार गरी ऐच्छिक रूपमा कक्षा पाँचसम्म लागू गरिनेलगायतका योजना अघि सारिएको छ ।

श्रम तथा रोजगारमा नगर स्तरीय विकास निर्माणका योजनामा स्थानीय श्रमिकलाई प्राथमिकतामा राखिने, स्थानीय स्तरमा कृषिमा आधारित ‘एक वार्ड, एक साना उद्योग’ स्थापना गर्न पीपीपी मोडलको वित्तीय कार्यक्रम ल्याई रोजगारीको अवसर सिर्जना गरिनेलगायतका योजना समेटिएका छन् ।

जेष्ठ नागरिक तथा फरक क्षमतातर्फ मेचीनगरमा सञ्चालित ज्येष्ठ नागरिक तथा अपांग आश्रमको स्थापना तथा सञ्चालनको जिम्मेवारी लिइने, ज्येष्ठ नागरिक तथा अपांगको सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने व्यवस्था गरिने उल्लेख छ ।

तटबन्धनमा मेची, काली, पालिया, निन्दा, टिमाई, हँडिया, झिलमिले, फुलवासा लगायतका खोलाको किनारामा पक्की बाँधसहितको सडक निर्माण गरी नदी उकास जमिनमा ग्रीनबेल्ट निर्माण गरी सो स्थानहरूमा सुकुम्बासीको व्यवस्थापन गरिने उल्लेख छ ।

युवा तथा खेलकुदतर्फ ‘खेलाडीसँग उपप्रमुख कार्यक्रम’ मार्फत् खेलकुद विकासका लागि हरेक वर्ष राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने, नगर खेलकुद विकास समिति गठन गरी नगरभित्र रहेका क्लबहरूसँगको सहकार्यमा खेलकुद विकासका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिने उद्घोष गरिएको छ ।

साझा गठबन्धनले स्थानीय सेवा शुल्क दस्तुरलाई प्रभावकारी बनाउने योजना पनि अघि सारेको छ । एकीकृत सम्पत्ति कर, व्यवसाय कर, घरबहाल कर, विज्ञापन कर, पर्यटन शुल्क, मनोरञ्जन कर, दण्ड जरिवाना, मालपोतलगायतका करका दायरालाई फराकिलो तवरले निर्धारण गरी आयस्रोतको वृद्धि गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ ।