एमाले मेचीनगर-६ : समाजबादको तीन आधार शिक्षा, स्वास्थ्य र रोजगार


काँकरभिट्टा । मेचिनगर वडा नम्बर-६ नेकपा एमालेका उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार वडा नम्बर ६ भानुटोलस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

उक्त प्रतिबद्धता पत्र अनुरुप वडा विकासका लागि सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जायर गर्दै वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापाले वडा विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिबद्धता पत्र

पुर्वाधारमा तीन काम

काँकरभिट्टा खेल मैदानलाई मिनी रङ्गशालाको रूपमा विकास गर्ने र तुर्केनी खेल मैदानलाई व्यवस्थित गरिने छ ।

वडामा रहेका अव्यवस्थित बिजुलीका पोल, तारलाई व्यवस्थित गर्दै वडाका मुख्य बाटाहरूलाई ढल निकाससहित कालोपत्रे र फराकिलो बनाइने छ ।

काँकरभिट्टास्थित मिनी मार्केट भएको क्षेत्रमा सुविधासम्पन्न व्यापारिक कम्प्लेक्स निर्माण गरी हालका व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई पहिलो प्राथमिकता दिई भाडामा लगाइने छ ।

शिक्षामा तीन काम

यस वडामा रहेको एकमात्र सामुदायिक विद्यालय काँकरभिट्टा माध्यमिक विद्यालयलाई शैक्षिक गुणस्तर विकासमा वार्षिक बजेट विनियोजन गरिने छ ।

काँकरभिट्टा माध्यमिक विद्यालयमा अध्ययनरत छात्र(छात्राका लागि खेलकुद, स्टेसनरी तथा पोसाकसहितको सामग्री निःशुल्क उपलब्ध गराइने छ ।

यस वडामा रहेको एकमात्र सामुदायिक क्याम्पस काँकरभिट्टा बहुमुखी क्याम्पसमा मास्टर्स डिग्रीसम्मको पढाइका लागि पहलकदमी गर्दै ई-लाइब्रेरीको स्थापनामा सहयोग गरिने छ ।

स्वास्थ्यमा तीन काम

वडा नं. ६ स्थित हालको स्वास्थ्य चौकीलाई ल्याब, बिरामी प्रतिक्षालयसहित स्तरोन्नति गरी ःबीबीएस डाक्टरसहितको आकस्मिक सेवा सञ्चालन गरिने छ ।

त्रैमासिक रुपमा वडाका सबै ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराइने छ । वृद्धभत्ता वितरणलाई सहज बनाइने छ ।

विपन्न वर्गका नागरिकको निःशुल्क स्वास्थ्य विभा गराइने छ ।

युवा तथा खेलकुदमा तीन काम

खेलकुदका विभिन्न विधामा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सक्षम यस वडामा खेलाडीहरुका लागि प्रशिक्षक व्यवस्थापन गराइने छ ।

वडाबाट प्रतिनिधित्व गर्ने विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई वार्षिक प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।

राष्ट्रको मेरुदण्डका रूपमा रहेका युवा वर्गलाई कुलत र दुर्व्यसनीबाट सुरक्षित गर्दै सामुदायिक व्यायामशाला निर्माण तथा सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बन्न प्रेरित गरिने छ ।

उद्योग, वाणिज्य र पर्यटनमा तीन काम 

नेपालको पूर्वी सिमानामा रहेको काँकरभिट्टा विदेशी पर्यटक आगमनको मुख्य प्रवेशद्वार भएकाले बसपार्क क्षेत्रलाई सफा, हरियालीयुक्त, सुन्दर बनाउँदै साना ठुला सवारी साधन पार्किङको यथोचित व्यवस्थापन गरिने छ ।

वडाभित्र रहेका उद्योगको संरक्षण गर्दै घरेलु तथा साना उद्योग स्थापनालाई प्रोत्साहन गरिने छ । आँखा उपचारको भरपदों क्षेत्रको रूपमा विकास हुँदै गरेको काँकरभिट्टालाई बिरामी तथा पर्यटकमैत्री सहरको रूपमा विकास गर्न सहयोग गरिने छ ।

काँकरभिट्टा बस टर्मिनल क्षेत्रमा सन्ध्याकालीन बजार व्यवस्थापनका लागि पहल गरिने छ ।

कृषि तथा सहकारीमा तीन काम
वडाभित्र रहेका कृषि क्षेत्रहरूको पहिचान गरी बाली बिमा मार्फत् कृषकलाई प्रोत्साहित गरिने छ ।

अर्ग्यानिक कृषि उत्पादनका लागि मल, बिउ, बिजनमा अनुदान दिई कृषि उपज बिक्री केन्द्र स्थापना गर्न पहल गर्दै हालको सब्जी बजारलाई व्यवस्थित गरिने छ ।

वडामा रहेका विषयगत सहकारीहरूको तथ्याङ्क सङ्कलन गरी साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।

पर्यावरण तथा वातावरणमा तीन काम

बजार क्षेत्रको ढलनिकासको रूपमा रहेको कालीखोलामा छुट्टै ढल निर्माण गरी सो क्षेत्रलाई पैदलयात्रा गर्न सकिने करिडोरको रूपमा विकास गरिने छ ।

बजार क्षेत्रका सम्पूणर् ढलहरूको निकासलाई केन्द्रीकृत गरी प्रशोधन मार्फत् विसर्जन गर्ने व्यवस्था गरिने छ ।

बजार क्षेत्रमा पलास्टिक झोला, गुट्खाजन्य खोल आदिको फोहोरलाई नियन्त्रण गर्दै वैकल्पिक झोला उत्पादनका लागि प्रोत्साहन गरिने छ । सार्वजनिक तथा घुम्ती शौचालय निर्माण गरिने छ ।

कला, साहित्य र संस्कृतिमा तीन काम

वडामा केन्द्रीय कार्यालय रहेका परिवर्तन थिएटर, रिडर्स झापा, सुसेली साहित्य परिवार, भानु साहित्यिक प्रतिष्ठान, देही आर्ट लगायतका संस्थाहरूले कला, साहित्य र संस्कृतिको क्षेत्रमा पुयाएको योगदानको उचित कदर गर्दै तिनको संरक्षण र संवर्द्धनका लागि कार्यक्रमका आधारमा आवश्यक सहयोग गरिने छ ।

वडामा रहेका राष्ट्रिय विभूति तथा स्रष्टाहरूका सालिक र त्यस वरिपरि रहेका पार्कहरुको संरक्षण र विकासमा यथेष्ट योगदान गरिने छ ।

वडामा रहेका सबै भाषाभाषी, जातजाति, समुदायहरूको मौलिक संस्कृति संरक्षणका निम्ति समानुपातिक बजेट विनियोजन गरी प्रोत्साहन गरिने छ ।

विपत व्यवस्थापनका तीन काम

आगलागीबाट हुने जोखिम न्यूनीकरण गर्न वडामा दमकल र विपन्न वर्गका बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिने छ ।

महामारी, प्राकृतिक प्रकोप, दैविक प्रकोप जस्ता अवस्थामा दक्ष जनशक्तिसहितको “स्वयम्सेवक कार्यदल” खडा गरी तत्काल नियन्त्रण तथा रोकथामका लागि यथोचित व्यवस्थापन गरिने छ ।

वडा क्षेत्रमा शववाहनको व्यवस्था गरिने छ ।

वडाका पृथक तीन काम

वडाबासी नागरिकको विवरण सङ्कलन गरी वडा प्रोफाइल तयार गरी डिजिटल रूपमा सुरक्षित गरिने छ।

साविक नकलबन्दा गाउँ पञ्चायतको केन्द्रको रुपमा रहेको नकलबन्दा क्षेत्रलाई उचित संरक्षण तथा सम्बर्द्धन गर्दै त्यस क्षेत्रलाई वैकल्पिक बजारका रुपमा विकास गरिने छ ।

वडा क्षेत्रमा रहेका विपन्न परिवारको पहिचान गरी परिचय पत्र उपलब्ध गराउँदै राज्यका न्यूनतम् सुविधा उपलब्ध गराइने छ । वडा क्षेत्रमा रहेका भानुटोल, मेचीडाँडा, नकलबन्दा लगायतका क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै जग्गाधनी प्रमाण पूर्जा वितरणका लागि पहल गरिने छ ।