राप्रपा मेचीनगर : नगर प्रमुखमा दाहाल र उपप्रमुखमा बजगाईको उम्मेद्वारी


मेचीनगर । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला दल नेपाली काँग्रेस र एमालेले उम्मेद्वार घोषणा गर्न नसकिरहेको समयमा राप्रपाले शनिवार एक कार्यक्रमको बीच प्रमुख र उपप्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ ।

राप्रपाले पार्टी प्रवेश तथा उम्मेद्वार घोषण सभा आयोजना गरेर नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईको नाम घोषणा गरेको हो ।नवप्रवेशीहरुलाई स्वागत गर्न आएका पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख र उपप्रमुखको नाम घोषण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष लिङदेनले तीन ठूला दल काँग्रेस, एमाले र माओवादीका कारण देश असफल राष्ट्र बन्ने खतरा बढेको बताए ।

राप्रपाको एकता महाधिवेशनपछि देशमा नयाँ ध्रुविकरण सुरु भएको बताउँदै अध्यक्ष लिङदेनले देशलाई माया गर्ने, देशमा परिवर्तन चाहनेहरु राप्रपामा आउने लहर चलेको र राजनीतिलाई पेशा ठान्ने र कमाउ धन्दामा लागेकाहरु अरु पार्टीमा लाग्ने अभियान सुरु भएको बताए । ‘देशमा भ्रष्टचार गर्नु भनेको आमाको रगत पिउनु सरह हो’, अध्यक्ष लिङदेनले भने, ‘हामी देशलाई भ्रष्टचार मुक्त बनाउछौँ । हाम्रो पार्टीका कुनै कार्यकर्ताले भ्रष्टचार गर्ने छैनन् ।

हामी यो संकल्पका साथ अभियानमा छौँ । देश बनाउने अभियानमा तपाइहरुले साथ दिनु पर्यो ।’ उनले राप्रपा बलियो भए मात्र देशले समृद्धि हासिल गर्ने बताए । वितेको ३१ वर्षसम्म देश बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउँदै उनले रोगजारीको लागि खाडी मुलक धाउनु पर्ने परिस्थितिको अन्त्यगरी देशमै रोजगारी सिर्जना गर्नु पर्ने बताए ।

मेचीनगर अध्यक्ष सबिना बजगाईको सभापतित्व रहेको कार्यक्रममा जिल्ला अध्यक्ष केशव ओझाले देशमा परिववर्तका लागि सवै सचेत भएर राप्रपालाई मतदान गर्न आग्रह गरे । ओझाले देश र धर्मलाई जोगाउने पार्टी राप्रपा मात्र भएको दावी गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब दुई सयले राप्रपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई केन्द्रीय अध्यक्ष लिङदेनले अविर लगाएर पार्टी प्रवेश गराएका थिए । १ नम्बर प्रदेश परिषद सदस्य रमेश दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेचीनगर सचिव विशाल कृष्ण बाँस्तोलाले गरेका थिए ।