‘डाँडाघरे काका मरे, अब तास खेल्न पाइने भो भरे’


बिर्तामोड । हास्य–व्यङ्ग्य गीतमार्फत समाजिक विकृति चित्रण गर्न सिपालु गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले साङ्गीतिक बजारमा नयाँ गीत ल्याएका छन् । शनिबार ‘एक्का ट्रायल’ शीर्षकको उक्त गीत आफ्नो आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरेका बोकेदाह्रीले पहिलो अन्तरामा भनेका छन्, ‘डाँडाघरे काका मरे, तास खेल्न पाइनेभो भरे ।’

गीतको बोलबाट नै थाहा हुन्छ रचनाकारसमेत रहेका बोकेदाह्रीले सामाजिक कूरीतिलाई कतिसम्म व्यङ्ग्य गर्दै सन्देश दिने कोसिस गरेका छन् भन्ने । माध्यम उही होला तर ‘भ्युज’ र ‘भाइरल’मा रमाउने प्र्रवत्तिबाट टाढा रहेर गहन सन्देश पस्किने गरेका बोकेदाह्रीले यसपटक भने समाजलाई दरिलो झापड बजाएका छन् ।

हुन त अघिल्ला गीतमार्फत पनि उनले समाजमा स्थापित खराब अभ्यासहरूलाई पछार्ने काम गरेकै हुन् । तर यसपटक भने उनले समाजले देखेर पनि ‘अन्देखा’ गर्ने सामाजिक परिपार्टीमाथि दरिलो झापड बजाएका छन् । ‘समाजमा अवस्थित विकृति र विसङ्गति न्युनीकरण गर्ने प्रयासस्वरूप भिडियो बनाएका छौैँ,’ उनले केटिएम दैनिकसँग भने, ‘अहिले अन्य विकृतिझैँ मरिमराउ भएको घरमा तासको अड्डा बनाएर कूकृत्य गर्नेहरू हाबी छन् । यस्तो अभ्यास हटाउने हिसाबले भिडियो बनाएको हुँ ।’

गीतको भिडियो जुवाडे प्रवृत्तिको पात्रबाट सुरु भएर ‘डाँडाघरे काका’ नामक पात्रको काजकिरियासँगै अन्त्य हुन्छ । परिवारभित्रका दुई सदस्य जुवाडे भएपछि उनीहरूलाई सुधार्न आमाले छोरा ‘बोकेदाह्री’को सहारा लिन्छिन् । त्यसपछि डाँडाघरे काका बितेको खबर आएपछि ‘जुवाडे’ प्रवृत्तिका मान्छेहरू तास खेल्न पाइने भयो भनेर खुसी हुन्छन् । बोकेदारीले भने बुबा र भाइलाई सुधार्ने प्रतिबद्धता आमासमक्ष गर्छ । सँगै गीत बज्न थाल्छ, ‘डाँडाघरे काका मरे, तास खेल्न पाइनेभो भरे ।’

हो, मोरङको बेलबारीतिर छायाङ्कन भएको गीतको भिडियोमा देखाएजस्तै अनि गीतले भनेजस्तै अहिले हाम्रो समाजमा मरिमराउ त्यहाँ मलामी जान चाहँदैनन् । मलामी जाने त उही दुई–चारजना बूढापाकामात्र हुन्छन् । आधाजसो युवा वैदेशिक रोजगारीमा गएका कारण गाउँमा हुँदैनन् र भएका आधा पनि मलामी जाने कार्यलाई अपरिहार्य ठान्दैनन् ।

तर साँझमा किरियापुत्रीलाई रुङ्ग्ने बहानामा तास खेल्न भने जरुर उपस्थित हुन्छन्, उनीहरू । समवेदना प्रकट गर्ने बहानामा जुवाडेहरू रातभर मरिमराउ भएको घरमा तास–जुवा खेल्न बस्छन् । किनकि, मरिमराउ भएको घरमा प्रहरीले छापा मार्दैन । यसैको फाइदा उठाउन जुवाडेहरू मरिमराउ भएको घर पुग्छन्, रातभरि तास खेल्छन् । कोहीले मनग्ये पैसा जितेर उठ्छन्, कोेही भने शरीरमा निद्रा अनि ऋण बोकेर घर फर्किन्छन् ।

गायक बोकेदाह्री भन्छन्, ‘प्रहरीले छापा नमार्ने भएका कारण पनि जुवाडेहरूले किरियापुत्री रुङ्ग्ने बहानामा मरिमराउ भएको घरलाई जुवाखाल बनाउँछन् । कसैले जित्ला तर कसैले घरबारी हारेको हुन्छ । यो अभ्यास हटाउन पनि यस्तो कथा सिर्जना गरेको हुँ ।’

मरिमराउ भएका घरमा राति बसेर उनीहरूलाई समवेदना दिने अभ्यास ठिकै रहेपनि तास–जुवा खेल्ने परिपाटीले धेरैको जिन्दगीमा सङ्कट ल्याएको उनी बताउँछन् । यस्तो परिपाटीको अन्त्य गर्न समाज आफैँ अग्रसर हुनुपर्ने गायक बोकेदाह्रीको बुझाइ छ । यसैैले उनले भिडियोको अन्त्यमा मरेको मान्छे उठेर जुवाडे सबैलाई खेदाएको देखाउन खोजेका छन् ।

म्युजिक भिडियोमा गायक बोकेदाह्रीसँगै, केशव रायमाझी, कल्पना पाण्डे, राजन भण्डारी, सङ्गीता यादव, विशाल गदाल, रमेश भट्टराई, क्षितिज कोइराला, सुजल अधिकारी, विकल दाहाल, विनोद कार्की र प्रदीप भण्डारीको अभियन छ ।

हेरौं भिडियो