आज काँग्रेस मेचीनगर सभापतिका लागि बराल र पनेरुबिच चुनावी भिडन्त


धुलाबारी । काँग्रेस मेचीनगर सभापतिका लागि मेचीनगरका दुई वडाध्यक्षबीच आज (आइतवार) चुनावी भिडन्त हुँदैछ । मेचीनगर–४ का वडाध्यक्ष नविन वराल र मेचीनगर–१० का वडाध्यक्ष सुरेश पनेरु बिच चुनावी भिडन्त हुन लागेको हो ।

सर्वसम्मत सभापति छान्नका लागि नेतृत्वले अन्तिम घडीसम्म प्रयास गरे पनि सफल हुन सकेन । नेताहरुले मेचीनगरमा गुटको अवस्था नरहने भनेर दाबी गरेता पनि अन्ततः पार्टी नेतृत्व सफल हुन सकेन ।

पार्टीमा झापाली नेताहरु कृृष्णप्रसाद सिटौला तथा विश्वप्रकाश शर्मा पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा आ–आफ्नो पक्षमा मत माग्न ब्यस्त देखिन्थे । निर्वाचन स्थलमा गुुटगत चियोचर्चा तथा समूहगत भेला खुलेर भएको देखिन्थ्यो । काँग्रेस झापाको राजनीतिक वृत्तमा देखिएका तिनै दुईवटा गुटको प्रतिनिधित्व गर्दै दुई वडाध्यक्ष चुनावी मैदानमा छन् ।

एक जानकार नेताका अनुसार सर्वसम्मत सभापति छान्नका लागि नेतृत्वले विगतको मूल्यांकन, जिम्मेवारी, भूगोलका आधारमा आकांक्षीहरुमा सहमति खोज्ने प्रयास गरेता पनि सबै सहमत हुन नसक्दा चुनावमा जानु परेको सुनाए ।

छलफलमा सहभागी ती नेताले पछिल्लो समय गुटको राजनीति हावी हुन खोजे पनि आम नेता तथा कार्यकर्ताको भावना तथा पार्टी नेतृत्वको पहल अनुसारकै नतिजा आउनेमा आँफूहरु ढुक्क रहेको दाबी गरे ।

शनिबार धुलाबारी माविमा रहेको मतदान केन्द्रमा पुगेर निर्वाचन समिति समक्ष दुई युवा नेताहरु वडा नम्बर ४ का अध्यक्ष नवीन बराल र वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुले सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् ।

चुनाव जित्नेमा कत्तिको विश्वस्थ हुनुहुन्छ भन्ने प्रश्नमा दुबै उम्मेद्वारहरुले आ आफ्नै पक्षमा दाबी पेश गरेका छन् । सभापतिमा दाबेदारी पेश गरेका नवीन बरालले आँफुले ७५/२५ प्रतिशतको अनुपातमा मत प्राप्त गर्ने दाबी गरे ।

उता सभापतिका अर्का उम्मेद्वार सुदय पनेरुले आफ्नो पक्षमा ७०/३० प्रतिशतको अनुपातमा नतिजा आउने दाबी गरे । कसले बाजि मार्छ त्यो थाहा पाउन भने अझै केही समय पर्खनु पर्ने अवस्था छ । `शनिबार दिउँसो १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको थियो ।

जस अन्तर्गत दुई सभापति, चार उपसभापति, चार सचिव तथा पाँच सहसचिवमा उम्मेद्वारी दर्ता भएका थिए । उपसभापतिमा धनकाजी खत्री, योगेन थापामगर, सन्दिप ओली र राजु अधिकारीले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

उपसभापतिमा उम्मेद्वारी दिएका खत्री र थापामगरले सभापतिमा बराललाई समर्थन गर्दा उनीहरुलाई उपसभापतिमा सर्वसम्मत बनाउने प्रयास नेताहरुको थियो । तर, सभापतिमा देखिएको गुटको राजनीतिको असर अन्य पदहरुमा समेत देखियो फलस्वरुप अन्य पदमा समेत उम्मेद्वारी बढ्ने क्रममा देखियो ।

त्यस्तै, सचिवमा मनोेज घिमिरे, अशोक राई, मुकेश लिम्बू र लक्ष्मी काफ्लेको उम्मेद्वारी परेको छ । सहसचिवमा विजय भट्टराई, लोकेन्द्र थपलिया, चन्दन गौतम, टिकाराम धमला र नवीन खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ । काँग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव रहने व्यवस्था छ ।

केही उम्मेद्वारहरुले भने आफुहरु कुनै गुटको नभइ लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदै उम्मेद्वारी दिएको र सच्चा कार्यकर्ताहरुको मत आफुहरुले प्राप्त गर्ने विश्वाससमेत उनीहरुले लिएका छन् ।

त्यसैगरी, सदस्यतर्फ खुलामा एक महिलासहित प्रत्येक वडाबाट ६ जनाका दरले कुल ४५ जना, सदस्य खस आर्य तथा आदिवासी जनजातितर्फ ६ महिलासहित १३/१३ जना, दलिततर्फ एक महिलासहित २ जना, मधेशीतर्फ १ महिलासहित २ जना तथा क्षेत्रीय प्रतिनिधि (अपांग) तर्फ एक महिलासहित २ जना रहने व्यवस्था छ ।

जसमा सदस्यतर्फ ७६ जनै सर्वसम्मत चयन भइ सकेका छन् । थप दुई क्षेत्रीय प्रतिनिधि अपांग कोटाबाट सर्वसम्मत चयन भए ।

मतदान अहिले विहान ८ बजेदेखि १ बजेसम्म हुनेछ । सो लगत्तै मतगणनाको समयतालिका तय गरिएको निर्वाचन समितिले जनाएको छ ।