काँग्रेस क्षेत्रिय सभापतिमा युवा नेता बिष्णुप्रसाद रिमालको उम्मेद्वारी


बिर्तामोड । सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक निर्वाचनमा व्यस्त छ । १४ औँ महाधिवेशनका लागि पार्टीको वडा तहबाट कांग्रेसले निर्वाचन सुरु गरेको हो । पार्टीभित्र प्रतिस्पर्धी क्षमताको विकासका लागि पनि आन्तरिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ ।

वडा तहको निर्वाचन सम्पन्न भइरहँदा नगर र क्षेत्रको निर्वाचन पनि नजिकमा छ । यसका लागि कांग्रेसीजन उमेद्वारी घोषणा र चुनावी प्रचारमा लागिरहेका छन् । पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा धमाधम उमेद्वारी घोषणा भइरहेका छन् ।

झापा क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिका लागि युवा नेता बिष्णुप्रसाद रिमालले उम्मेद्वारी घोषणा गरेका छन् । ‘राजनीतिमा युवा पुस्ताको सक्रियता समयको माग र आवश्यकता बन्दै गएको छ’, युवा नेता रिमालले स्पीक कर्नरमा भने, ‘त्यसैका लागि क्षेत्रीय सभापतिमा मेरो उमेद्वारी हो ।’

रिमाल जोश, जाँगर र उत्साहका धनी छन् । त्यसलाई पार्टीको संगठन विस्तार र अभियानमा जोड्न सकिन्छ भन्ने उनलाई लागेको छ । ‘मेरो सक्रियताको प्रयोग पार्टीले गर्नुपर्छ भन्ने मान्यता मैले राखेको छु’, रिमालले भने । २०५७ सालमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ सभापति भएका रिमाल प्रदेश क्षेत्र ‘ख’ का सचिव समेत हुन् ।

भ्रष्टाचारविरुद्धको अभियानका सक्रिय स्वयम्सेवी रिमाल २०६० तिर प्रो।पब्लिकको असल शासन कार्यक्रममा पनि सहभागी थिए । उनको सामाजिक सक्रियता त्यसैबाट सुरु भएको हो । पत्रकारितामा पनि सक्रिय रिमाल चारआली जेसीजका संस्थापक अध्यक्ष हुन् । राजनीतिमा युवा पुस्ताको सक्रियता बढ्दै गए मात्र देशले विकासको गतिलिन सक्ने उनी बताउँछन् ।

२०६२ देखि रिमाल कांग्रेसको क्रियाशील सदस्य छन् । राजनीति उनको रुचिको विषय हो । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका रिमाल अन्तर्राष्ट्रिय कुटनीतिमा विद्यावारिधि गर्ने तयारीमा छन् । रिमालको लोभलाग्दो सक्रियता देखेर २०७२ सालमा कांग्रेसले उनलाई झापा क्षेत्र नम्वर १ को क्षेत्रीय समिति सदस्यमा मनोनित पनि गरेको थियो ।

राजनीतिक विश्लेषण गर्न सक्ने क्षमताका रिमाल शैक्षिक अभियानमा पनि सामेल छन् । अध्ययन तथा लेखनमा पनि उनको दख्खल छ । उनी युनिक इङ्लिस बोर्डिङ स्कुल मेचीनगर–१२ सहरेडाँगीका एकल सञ्चालक हुन् ।