एनएमसीको २९औं साधारणसभा असोजमा, वार्षिक प्रतिवेदन सार्वजनिक


झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)  झापाको २९औं वार्षिक साधारणसभाको लागि वितरण गर्ने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

झापाको मेचीनगर– ६ काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेर मोरङ र इलाम जिल्लामा समेत कार्यक्षेत्र बिस्तारित एनएमसीले बिर्तामोडस्थित कार्यालयमा आज पत्रकार माझ २९औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको हो ।

एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले संस्थाको नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आगामी असोज ९ गते वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभाको रुपमा मेचीनगर– १४, दुहागढीस्थित एनएमसी एकीकृत नमूुना कृषि फर्ममा गरिने जानकारी दिए । कोरोना महामारीका बीच सञ्चालन गर्न लागिएको साधारणसभाका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड र स्वास्थ्य सुरक्षाका विधीहरु अवलम्बन गरिनेछ ।

वार्षिक साधारणसभाको कार्यसूची बारे जानकारी दिँदै अध्यक्ष उप्रेतीले भने, ‘संस्थाका ४५ वटा बैंकिङ कार्यालयलाई ईकाई मानेर शेयर सदस्यहरुलाई आमन्त्रण गरी आगामी असोज ३ गतेदेखि ८ गतेसम्म छलफल गर्ने, उनीहरुबाट सुझाव संकलन गरिने तथा माइन्युट प्रमाणित गर्न तीनरतीन जनाका दरले प्रतिनिधि छनौट गरी असोज ९ गते साधारणसभा सम्पन्न गरिनेछ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले संस्थाको नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एनएमसीले गरिरहेका र आगामी वर्ष गर्ने कार्यक्रम प्रस्तुत गरेका थिए । आज सार्वजनिक प्रतिवेदनमा संस्थाले यसवर्ष मोरङ र इलाममा कार्यक्षेत्र थप गरेको तथा २०७८ असार मसान्तमा एक लाख पाँच हजारभन्दा बढी सदस्यहरु रहेको उल्लेख छ ।

त्यस्तै संस्थाको २०७८ साल असार मसान्तको शेयर पुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २०० रुपैयाँ , निक्षेप आठ अर्ब ८५ करोड ४२ लाख २३ हजार ४०३ रुपैयाँ, कर्जा लगानी नौ अर्ब २४ करोड ६ लाख ४० हजार ९९४ रुपैयाँ, जगेडा कोषमा ६८ करोड र कर अघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५४८ रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने नाराका साथ सञ्चालित संस्थाले बैंकिङ, डेरी, एकीकृत नमूना कृषि फार्म, सहकारी पसल, चिया उद्योग गरी पाँच वटा व्यवसाय सञ्चालन गरेको छ । अध्यक्ष उप्रेतीले पत्रकारहरु माझ एनएमसीले अब एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उद्योग, चामल मिल, तोरीको तेल मिल जस्ता उद्योगहरु सञ्चालन गर्ने योजना बनाएर अध्ययन भइरहेको जानकारी दिए ।

एनएमसीले समीक्षा वर्षमा ४४३ जनालाई मृत्यु राहत, ६५ जना दीर्घ रोगीलाई उपचार राहत, १८ जनालाई घाइते उपचार राहत, १५ जनालाई प्राकृतिक प्रकोप राहत, ६३ जना कोभिड संक्रमित कर्मचारीलाई राहत दिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै एनएमसीले बजार प्रतिनिधिहरुलाई कर्मचारीमा रुपान्तरण, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता, संरक्षित पुँजी फिर्ता कोष वितरण लगायतका कार्यक्रम अघि सारेको छ ।

साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमा १२ प्रतिशत शेयर बोनस वितरण गर्ने, कर्मचारीको तलब १० देखि १५ प्रशित बढाउने, सहकारी पसलको वेयरहाउस निर्माणका लागि जमिन खरिद गर्ने आदि प्रस्तावहरु ग्रिएको छ । पत्रकार सम्मेलनको सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।