एनएमसीको ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा


मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० झापाले कस्टम हायरिङ सेवाको विधिवत प्रारम्भ गरेको छ । सेवा अन्तर्गत किसानहरुले अब आफूलाई आवश्यक पर्ने कृषि यन्त्रहरु भाडामा प्रयोग गर्न पाउने भएका हुन् ।

संस्थाको तेस्रो व्यवसाय एकीकृत नमूना कृषि फर्म परिसरमा भदौ ११ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी कस्टम हायरिङ सेवाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले प्रमुख आतिथ्यता गर्दै सेवाबोर्ड अनावरण गरेर यसको उद्घाटन गरेका हुन् ।

सेवा उद्घाटनका अवसरमा मन्तब्य राख्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कृषिमा यान्त्रिकरण गर्दै कृषि उपजको लागत घटाउने तथा उत्पादन बढाउने उद्देश्यका साथ कस्टम हायरिङ सेवाको सुरुवात गरिएको जानकारी दिए । संस्थाले ४१ प्रकारका ४८ वटा यन्त्र उपकरणहरुको व्यवस्थापन गरेर कस्टम हायरिङ सेवा सञ्चालनमा ल्याएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बुढाथोकीले आफ्नो मन्तब्यमा सहकारीले मानिसको जीवनमा परिवर्तन ल्याउन मद्धत गर्छ भन्ने कुरालाई एनएमसीले व्यवहारबाटै पूरा गरेको भनाई राखे ।

कार्यक्रममा प्रदेशसभाका अर्का सदस्य श्रीप्रसाद मैनालीले काम गर्ने समूह, संस्था र मानिसहरुलाई सरकारबाट गरिएको यसप्रकारको सहयोगले प्रदेश १ सरकारप्रति विश्वास झांगिएको बताए ।

उद्घाटन कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौला, सहकारी प्रशिक्षालय प्रदेश १ का प्राचार्य लीलाबल्लभ चापागाईं, नेफ्स्कोनका सञ्चालक सदस्य घनश्याम अधिकारीले सहकारीका विविध पक्षहरुबारे चर्चा गरेका थिए ।

यसैगरी, कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख निलकमल सिंह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानीका प्रमुख रविन्द्र सुवेदी, मेचीनगर १४ का वडाध्यक्ष शंकर पोखरेलले कस्टम हायरिङ सेवाबाट सदस्य र समाजले पाउने सुविधाका बारेमा बोलेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई एकीकृत नमूना कृषि फार्म व्यवसाय उपसमितिका संयोजक केशवप्रसाद पोखरेलले स्वागत गरेका थिए ।

स्वागत मन्तब्यका क्रममा संयोजक पोखरेलले २०७६/०७७ देखि नै एनएमसीले कृषि प्रयोजनका यन्त्र उपकरणहरु किनेर भाडामा दिन थालेकोमा अब ४३ किसिमका काम गर्नमिल्ने ४८ वटा यन्त्र उपकरणहरुको व्यवस्थापन गरेर कस्टम हायरिङ सेवा सञ्चालनमा ल्याइएको जानकारी गराए ।

यसैबीच, प्रदेश सरकारले दिएको गाइडलाइन अनुसार कष्टम हायरिङ सेवाका लागि छुट्टै उपसमिति बनाइएको पनि सो अवसरमा जानकारी दिइयो । प्रदेश सरकारको निर्देशन बमोजिम यन्त्र उपकरण प्रयोग गरेवापत सेवाको मूल्य निर्धारण तथा भाडादर कायम गर्न समितिले मुख्य भूमिका खेल्ने जनाइएको छ ।

एकीकृत नमूना कृषि फार्म व्यवसाय उपसमितिका संयोजक केशवप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिमा जनप्रतिनिधिबाट १४ नं। वडासदस्य लाल मोहम्मद मियाँ, कृषि अर्थविज्ञ शालिकराम भट्टराई, मेकानिकल ईन्जिनियर सुभम अधिकारी, सेवाग्राही कृषकबाट गंगादेवी भूजेल रहेका छन् । समितिको सदस्य सचिवमा एकीकृत नमूना कृषि फार्मका व्यवसाय प्रमुख भुपाल गौतम रहेको जनाइएको छ ।

थोरै उपकरण र सानो लगानीमा अभ्यास गरिँदै आएको कस्टम हायरिङ सेवाबाट गएको असार मसान्तसम्म एक हजार १७२ घण्टा सेवा प्रवाह गरी १४ लाख ९२ हजार ९१५ रुपैयाँ आम्दानी गरिएको तथ्याङ्क छ । चालू वर्षदेखि यी यन्त्रहरुबाट आसपासका क्षेत्रमा उल्लेखनीय सेवा प्रवाह गर्ने र उदाहरणीय कार्य गरेर यान्त्रिकरणतर्फ लाग्न कृषकलाई उत्साहित बनाउने योजना रहेको बताइएको छ ।