मेचीनगरका ६ सय व्यवसायीलाई कोरोनाविरुद्धको खोप


धुलाबारी । कोरोनाविरुद्धको खोप व्यवसायीलाई उपलब्ध नगराएकोमा चौतर्फी आलोचना भइरहेको अवस्थामा मेची उद्योग वाणिज्य संघको पहलमा व्यवसायीलाई खोप उपलब्ध गराइएको छ । मेचीनगर नगरपालिकाले संघलाई खोप उपलब्ध गराएसँगै झापामा पहिलो पटक यवसायीले खोप पाएका हुन् । सोही अनुरुप मेचीनगरमा व्यापार व्यवसाय गर्दै आएकामध्ये ६ सय व्यवसायीलाई आइतबार कोरोनाविरुद्धको अमेरिकन खोप जोन्सन एण्ड जोन्सन लगाइएको छ ।

धुलाबारीस्थित आम्दा अस्पतालमा अत्यन्त व्यवस्थित र पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै संघले व्यवसायीलाई खोप लगाइदिएको हो । संघले मेचीनगरभित्रका संघमा दर्ता भएका तथा दर्ता नभएकाहरुको लागि पनि खोपको व्यवस्थापन गरिदिन मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल गरिरहेको छ । पहिलो चरणमा नगरपालिकाबाट प्राप्त खोप व्यवसायीमध्ये प्राथमिकताका आधारमा नाम छनोट गरिएको संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए ।

उनकाअनुसार पहिलो चरणमा मझौला उद्योगअन्तर्गत सिमेन्ट, प्लाइउड, चाउचाउ, दाना, दाल चामल, चुत्ताचप्पल र चिया उद्योगका व्यवसायी तथा कर्मचारी गरी बढीमा ५ जना, खाद्यन्न, गल्ला किरानाका व्यवसायबाट प्रत्येक फर्मबाट बढीमा २ जना, भेनियर, रंगरोगन र पानीका साना उद्योगबाट बढीमा ३ जना, घरेलु उद्योगअन्तर्गत धान, पीठो मिल, बेकरी, आईसक्रिम, दालमोठ, भुजिया, खाद्यबाट बढीमा २ जना, माछामासु, तरकारी, फलफूल, डेरी, हार्डवेयर र भेटनरीबाट १्१ जनाका दरले नाम छनोट गरी खोप लगाउने कार्यक्रम सम्पन्न गरेको अध्यक्ष तिम्सिनाले बताए ।

मेचीनगरमा व्यवसायीलाई खोप लगाउने कार्यक्रम व्यवस्थित र छरितो ढंगले गरेकोमा नगरपालिकाले खुसी व्यक्त गरेको छ । मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले मेची उद्योग वाणिज्य संघले व्यवसायीलाई व्यवस्थित रुपमा खोप लगाउने काम सफलतापूर्वक गरेकोले आइतबार नै वाणिज्य संघलाई नगरभित्रका २ सय १५ जना अटो रिक्सा र सिटी सफारीका चालकलाई पनि खोप लगाइदिने कार्यको जिम्मेवारी संघलाई नै दिएको बताए । “व्यवसायीलाई खोप लगाउने काम वाणिज्य संघले एकदम व्यवस्थित गरेकोमा हामी खुसी छौं । उहाँहरुको व्यवस्थापन राम्रो देखेर हामीले तुरुन्तै अटो रिक्सा र सिटी सफारी चालकलाई पनि खोप लगाउने जिम्मा उहाँहरुलाई नै दिएका हौँ” अधिकृत ओझाले भने । वाणिज्यस संघका पदाधिकारीलगायतको सहयोगमा खोप लगाउने काम व्यवस्थित तरिकाबाट सम्पन्न गरेको अध्यक्ष तिम्सिनाले बताए । अध्यक्ष तिम्सिनाले खोप लगाउन बाँकी रहेका व्यवसायीका लागि पनि खोपको पहल भइरहेको जानकारी दिए ।