‘अधुरा काम पूरा गर्न म उम्मेद्वार बनेको हुँ’

काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरी उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमाले र राप्रपाको गठवन्धनमा राजकुमार पराजुली अध्यक्षको उम्मेद्वार छन् भने नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी मिलेर बनेको लोकतान्त्रीक प्यानलवाट हर्क फ्याक अध्यक्ष पदमा उम्मेद्वार रहेका छन् । यसैक्रममा अध्यक्षका उम्मेद्वार फ्याकसँग खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेको कुराकानी

हर्क फ्याक : अध्यक्ष पदका उम्मेद्वार (लोकतान्त्रिक प्यानल)

तपाईं काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
म यो संस्थाको बहालवाला अध्यक्ष हुँ । यो तीनवर्षमा खानेपानी संस्थालाई बुझ्ने अवसर पाएँ । यो तीनवर्षको अवधिमा संस्थागत समस्या र आम उपभोक्ताको समस्यालाई नजिकबाट नियालेको छु । यहाँका राजनीतिक दल, आम उपभोक्ताहरुको भावना विचारलाई सम्मान गर्दै आफ्नो कार्यकालमा केही राम्रा काम गरेको छु र केही गर्न बाँकी छ । थाँती रहेका कामहरु आउँदो कार्यकालमा पूरा गर्ने अठोट लिएको छु । केही कामका लागि केही कामहरु आयोजना विभागमा पहल गरेको छु । यसलाई पूरा गर्ने दायित्व मेरो सामु छ । संस्थामा मेरो आवश्यकतालाई महसुस गरी पार्टीले मलाई अध्यक्षमा उठाएको छ । यो जिम्मेवारीलाई मैले सशक्त रुपमा पूरा गर्नुछ ।

मतदाताले तपाईंलाई नै किन मतदान गर्ने ?
संस्थामा कस्तो नेतृत्व चाहिन्छ भन्ने कुरा मतदातालाई थाहा छ । काँकरभिट्टा खानेपानी संस्थामा नगर विकास कोष रहेको छ । कोषको तीर्ने दायित्व समिति सँगसँगै उपभोक्ताको पनि हो । मेरो कार्यकालमा १५ करोड ८० लाख रुपैयाँ पुगेको छ । नियमित रुपमा साँवा र ब्याज तिरिरहेको छ । साढे ५ करोड रुपैयाँ तिरिसकिएको छ । १२ करोड तीर्न बाँकी छ । यो आम उपभोक्ता र समितिकै दायित्वभित्र पर्छ । संस्थामा आर्थिक पारदर्शीतासहित ऋण चुक्ता गर्ने प्रक्रियामा छौं । यो ऋण चुक्ता भएपछि संस्थाप्रति विश्वास बढ्नेछ र अन्य योजनाका लागि सहज हुन्छ । धेरै कामहरु गर्न बाँकी छ । संस्थाको क्षेत्राधिकारभित्र पाइपलाइन विस्तार योजना तीव्ररुपमा अघि बढाउने सोच छ । उपभोक्ताको माग अनुरुपको योजनाहरु अघि बढाउनुपर्नेछ । पानीको उत्पादन घट्दोक्रममा छ । माग दिनानुदिन बढ्दै गइरहेको छ । पानीका नयाँ स्रोतहरु पहिचान गर्नुछ ।

तपाईंको चुनावी एजेण्डा के–के हुन् ?
मेरो नेतृत्वले ‘सह लगानी आयोजना’ भनेर विभागमा योजना पेश गरेको छ । भर्खरै डिपिआर सम्पन्न भएको छ । मेचीनगर ३ र ४ नम्बर लगायत छुटेका अन्य वडाहरुमा पाइपलाइन विस्तार गर्नुछ । सह लगानी आयोजना कार्यान्वयनका लागि खानेपानी विभाग र नगरपालिकासँग यसै महिना सम्झौता हुँदैछ । यो ७०÷३० को लागतमा सम्पन्न हुने योजना हो । नगर विकास कोषलाई ऋणमुक्त गर्ने मेरो योजना छ । संस्थालाई आर्थिक पारदर्शी ढंगले सञ्चालन गर्ने मेरो योजना हो । काँकरभिट्टाको बर्मेली टोलमा रहेको संस्थाको जग्गामा वाटर पार्क बनाउने योजना छ । बजार क्षेत्रमा रहेका पुराना बोरिङलाई मर्मत गर्नुपर्नेछ ।

तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी हेर्नुभएको छ ?
यो लोकतान्त्रिक प्रतिष्पर्धा हो । उपभोक्तालाई मतदानको अधिकार छ । अन्य दलबाट पनि अध्यक्षमा उम्मेद्वारी परेको छ । लोकतन्त्रमा चुनावमा भाग लिनअधिकारलाई म सम्मान गर्छु । वर्तमान अवस्थामा मैले नेतृत्व गरिरहँदा मलाई जसरी साथ र सहयोग गर्नुभयो । अबको मेरो नेतृत्वलाई पनि यस्तै सहयोगको अपेक्षा गरेको छु । प्रतिष्पर्धी साथीहरुका लागि मेरो हार्दिकता छ । उहाँहरुप्रति मेरो सम्मान छ ।

जित्न कत्तिको ढुक्क हुनुहुन्छ ?
उपभोक्ताहरु मेरो काम बारे जानकार नै हुनुहुन्छ । म शतप्रतिशत जित हुनेमा ढुक्क छु । विगतमा पनि मप्रति उपभोक्ता महानुभावले विश्वास गरेर दिएको मतलाई मैले खेर जान दिइन । मलाई हिजो जसरी विश्वासको मत प्राप्त भो यसपटक पनि मलाई विजयी गराउनेमा म विश्वस्त छु ।
६. मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
मैले तीनवर्षे कार्यकालमा के–के कामहरु गरेँ, त्यो उपभोक्तासामु जगजाहेरै छ । त्यसैले मैले पनि भोलिका दिनमा पूरा गर्न नसक्ने आश्वासन उपभोक्तामाझ बाँडेको छैन । यो कुरा आम उपभोक्तालाई थाहै छ । चुनावको छेकमा होइन, यसअघि मैले संस्थाको नेतृत्व गरिरहँदा उपभोक्ता वर्गका जे–जती समस्या थिए र छन्, ती मैले प्रत्यक्ष रुपमा बुझेको छु । केही समस्या हल भएका छन् भने बाँकी केही अबका दिनमा पूरा गर्ने प्रतिबद्धता जनाउँछु ।

अन्त्यमा केही छुट्यो की ?
सुरक्षित र गुणस्तरीय पानी आजको आवश्यकता हो । सहज रुपमा चौविसै घण्टा पिउन योग्य पानी उपलब्ध गराउने म लगायत हाम्रो टीमको प्रतिबद्धता छ । आम उपभोक्ताले हाम्रो लोकतान्त्रिक प्यानललाई अत्यधिक मत दिएर विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।

खबरमञ्च साप्ताहिकमा प्रकाशित अध्यक्षका उम्मेद्वार पराजुली र फ्याकसँगको अन्तरर्वार्ता