‘आधिकारीक’ युवा संघ मेचीनगर आठौं सम्मेलनको तयारीमा


मेचीनगर । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपाल मेचीनगर कमिटीले यही चैत १४ गते आठौं सम्मेलन गर्ने भएको छ । संघका अध्यक्ष सरोज मेहेराको अध्यक्षतामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । ‘बद्लिँदो राजनीतिक परिवेशमा अधिवेशन मार्फत् संघको नगर कमिटीलाई थप चलायमान बनाउँदै पुनर्गठन गर्न लागेका हौं’–अध्यक्ष मेहेराले भने ।

‘सम्मेलनको अन्तिम तयारीमा हामी जुटिरहेका छौं’ उनले भने–‘८० प्रतिशत तयारी पूरा भएको छ, सम्मेलनमा करिब ५ सयको सहभागिता रहने आँकलन गरेका छौं ।’ अध्यक्ष मेहेराले ‘लक्ष्य समृद्धिको, यात्रा समाजवादको’ भन्ने मूल नारालाई साकार रुप दिने अभियानको निरन्तरतास्वरुप नगरका आम युवालाई संगठित गर्दै सम्मेलन गर्न लागिएको स्पष्ट पारे । सो अवसरमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य लालबहादुर थामीले संघको सातौं नगर अधिवेशनबाट निर्वाचित बहुमत पदाधिकारी र सदस्यहरु आबद्ध संघले गर्न लागेको आठौं सम्मेलन नै आधिकारिक भएको दाबी गरे । ‘यसअघिको कथित सम्मेलन बैधानिक होइन, आठौं अधिवेशनले युवामा नयाँ जोश र जाँगर भर्नेमा दुईमत छैन’थामीले भने–‘पार्टीभित्र एकताको भावना विकास गर्न पनि यो सम्मेलन अपरिहार्य छ ।’ त्यसक्रममा संघका प्रदेश कमिटी सदस्य बालकृष्ण थापाले युवा वर्गलाई विकसित राजनीतिक घटनाक्रम बारे अवगत गराउँदै युवालाई एक ढिक्का बनाउन सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

‘सर्वोच्चको पछिल्लो फैसलाले एकतापछि निर्माण भएको पार्टी ध्रुविकृत बनेको छ, यसले पार्टीको आन्तरिक जीवनमा जटिलता उत्पन्न गराएको छ’ थापाले भने–‘पूर्वबाट पार्टी एकताको पक्षमा सन्देश प्रवाह गर्न सम्मेलन कोशेढुंगा सावित हुन्छ ।’ कार्यक्रममा संघका जिल्ला सदस्य तथा क्षेत्रीय इञ्चार्ज राजु धिमालले ४ वर्षयता संघको नगर र वडा अधिवेशन हुन नसकेको चर्चा गर्दै संगठनलाई सुदृढीकरण गर्न सम्मेलन गर्न लागिएको बताए ।

‘आठौं अधिवेशन कुनै गुट विशेषको होइन, युवा संघमा आबद्ध सबै युवाको साझा र बैधानिक अधिवेशन हो’ उनले भने–‘हामीले नेतृत्व तहसँग समन्वय गरेरै संघलाई संस्थागत गर्न लागेका हौं ।’ सम्मेलनमा संघका नगर इञ्चार्ज रघुनाथ धिमाल, सचिव मेहेरलाल धिमाल, सहसचिव कृष्ण श्रेष्ठलगायत संघको क्षेत्रीय तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यको आतिथ्यता थियो । इटाभट्टास्थित किराँत याक्थुङ चुम्लुङको भवनमा हुने सो अधिवेशनको उद्घाटन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले गर्ने सम्मेलनमा बताइएको छ ।