बडाखाल– भृकुटी सडक : समयमै नबन्दा स्थानिय आक्रोशित (भिडियोसहित)


मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित इटाभट्टाबाट भृकुटी जोड्ने गोकुल मार्ग स्थानियले फेरी अवरुद्ध गरेका छन् । धुलोका कारण घरमा बस्नै नसक्ने अवस्था भएको भन्दै मेचीनगर–२ स्थानियले बाटोमा ढाट राखि सडक अवरुद्ध गरेका छन् ।

सो सडक अन्तर्गत मेचीनगर–३ बडाखालसम्म कालोपत्रे सडक छ । भृकुटीबाट बौद्धमोडसम्म पनि कालोपत्रे गरिएको छ । तर बडाखाल र भृकुटीबिचको सडकखण्ड भने कालोपत्रे गरिएको छैन । जसका कारण बाटोमा अत्याधिक धुलो बढेको र सबारी साधन अत्याधिक गुड्ने हुदाँ बाटोको सबै धुलो घरमा आएर बस्नै नसक्ने अवस्था आएकाले सडक अवरुद्ध गरिएको बरपिपल टोल विकास संस्थाका अध्यक्ष श्याम पुलामीले बताए ।

धुलोका कारण स्वास्थ्यमा असर परेको भन्दै यस क्षेत्रका स्थानियले यसअघि पनि सडक अवरुद्ध गरेका थिए । तर बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमती भएपछि सडक अवरोध हटाइएको थियो । तर पानी हाल्ने सहमती आँखामा छारो हाल्ने काम मात्रै भएको स्थानिय इन्दीरा पोख्रेलले बताउनुभयो । “सडकमा पानी हाल्ने सहमती भएपनि एकदिन मात्रै पानी हालेजस्तो गरियो त्यसपछि पानी हाल्ने काम पनि भएन” उहाँले भन्नुभयो । अब पानी हाल्ने आश्वासनले मात्रै सडक अवरोध नहटाउने स्थानियको अडान छ ।

सडक अवरुद्ध गर्ने सन्दर्भमा स्थानिय निकायसगैँ प्रदेश सरकारलाई पनि जानकारी गराइएको छ । तर कतैबाट पनि सुनुवाई नभएपछि बाध्य भएर सडक अवरुद्ध नै गर्नुपरेको स्थानिय बताउँछन् ।  स्थानियले धुलो नियन्त्रणको प्रयास सगैँ बाटो कालोपत्रेको माग पनि अघि सारेका छ्न । तर धुलो नियन्त्रण गर्छु भनेर आश्वासन मात्रै दिने काम यसअघि नै भइसकेकाले धुलो नियन्त्रण गर्ने दिर्घकालीन उपाय नअपनाइएसम्म सडक बन्द नै गरिरहने स्थानियले चेतावनी दिएका छन् ।