मखमली महिला साकोसको १२ औं वार्षिक साधारण सभा सम्पन्न


मेचीनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।  काँकरभिट्टास्थित मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि भण्डारीले भने­‘वर्तमान विषम परिस्थितिमा पनि संस्थाको आर्थिक पक्षलाई धरासायी हुन नदिन कर्मचारीको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।’  स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिएर संस्थाले फिजियोथेरापी सेवा सञ्चालन गर्नु मेचीनगरकै लागि गौरवको विषय भएको चर्चा गर्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्न कुनै कसर बाँकी नराखेको बताए ।  संस्थाकी अध्यक्ष एवँ कार्यक्रमकी सभापति राधा प्रधान कार्कीले सभाको खुल्ला सत्रमा सहकारीले स्वास्थ्य सेवालाई ध्यानमा राखेर कार्यालय भवनमै फिजियोथेरापी सेवा सञ्चालन गर्न १० लाख रुपैयाँ लगानी गरेको बताईन् ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले भनिन्­‘यो सेवालाई नियमित रुपमा सञ्चालन गर्न मेचीनगर नगरपालिकाले यसवर्ष १ लाख र मेचीनगर ६ नम्बर वडा कार्यालयले ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।’ सो अवसरमा विशिष्ट अतिथि मेचीनगर ६ नम्बर वडा कार्यालयका सदस्य राजकुमार श्रेष्ठ, समाजसेवी बिना तामाङ, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका सचिव कमल थापा, मेचीनगर ब्यूटी पार्लर संस्थाकी अध्यक्ष चन्दा राईलगायतले शुभकामना मन्तब्य राखेका थिए । साधारण सभाको सन्दर्भ पारेर संस्थाले उत्कृष्ट बचतकर्तातर्फ मल्लिका शर्मा खरेल, उत्कृष्ट कर्मचारीतर्फ बिना लिम्बू र ज्येष्ठ नागरिकतर्फ बालकुमारी नेम्बाङलाई नगद राशीसहित सम्मान तथा पुरस्कृत गरेको छ ।

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुईंटेललगायतको आतिथ्यता रहेको सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष भुवन सुब्बा र सञ्चालन सदस्य सीता गुरुङले गरेकी थिईन् ।  सहकारीको सभा कक्षमा आयोजित बन्द सत्रमा संस्थाको वार्षिक प्रतिवेदनसहित अन्य एजेण्डामाथि छलफल भई सर्वसम्मत पारित भएको लेखा समिति सदस्य मणिकुमार लिम्बूले जानकारी दिए ।